मायादेवी अनलाइन, वाणगंगा ।
भदौ महिनाको ३ गते लागिसक्दा समेत प्रदेश ५ मा अझै ६ प्रतिशत रोपाई गर्न बाँकी रहेको छ । यतिबेला रोपाई सकेर गोडमेल सकिसक्नु पर्ने अवस्थासम्म पनि प्रदेशका ६ प्रतिशत खेतीयोग्य जमिनमा रोपाई हुन नसकेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले निकालेको तथ्याङ्क अनुसार प्रदेश ५ मा सोमबार साँझको मितिसम्म प्रदेश नम्बर ५ मा ९४ दशमलव ३९ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
यसरी हेर्दा गएको वर्षको तुलनामा यो वर्ष धान रोपाईमा केही कम भएको पाइन्छ । गएको वर्ष साउन सकिदासम्म मूलुकभर करिब ९६ प्रतिशित रोपाई सकिसकेको थियो । प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके लगायत तराईका केही स्थानमा अझै सम्म पनि रोपाई गर्न नपाउँदा किसान चिन्तित बनेका छन् । रोपाई सकेर गोडमेल सक्ने अवस्थासम्म पनि रोपाई हुन नसक्नुको प्रमुख कारण किसानहरुलाई सिँचाईको सुविधा नहुनु हो । आकाशे भरमा रोपाई रोप्ने किसानहरु समयमा धान रोप्न नपाएपछि दुखी छन् । अब पानी परे पनि कुनै अर्थ नभएको भन्दै किसानले निरासा पोखेका छन् ।
कृषि मन्त्रालयको तथ्याङक अनुसार अन्य प्रदेशमा पनि त्यही हाराहारीमा धान रोप्न बाँकी छ । प्रदेश अनुसार हेर्दा सुदूर पश्चिम प्रदेशमा गएको वर्ष जस्तै यो वर्ष पनि शतप्रतिशत रोपाइँ यस्तै कर्णाली प्रदेशमा ९६ दशमलव १६ प्रतिशत, प्रदेश नम्बर ५ मा ९४ दशमलव ३९ प्रतिशत, गण्डकी प्रदेशमा ८८ दशमलव ९२ प्रतिशत, प्रदेश तीनमा ९६ दशमलव९५ प्रतिशत, प्रदेश दुईमा ९३ दशमलव ३१ तथा प्रदेश १ मा ९३ दशमलव ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यता समयमा धान रोप्न पाएका किसान पनि पछि पानी नपर्दा चिन्तामा रहेका छन् । रोपेको धान पनि पानी नभएका कारण गरैमा सुकेका छन् । मूलुकका अधिकांश स्थानका खेतमा पानी नहुँदा गरामा धाँजा फाटेर धमिरा देखिन थालेका छन् । पानी नपरेपछि धेरै स्थानमा धानमा डढेलो देखिएको छ । रोपेको धानले पर्याप्त पानी नपाउँदा उत्पादनमा कमी आउने भन्दै किसानले चिन्ता गरिरहेका छन् ।
प्रतिक्रिया