बुटवल ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटिभी जडान गरेको बताएका छन् । प्रदेश नं. ५ ट्राफिक कार्यालयमा सिसिटिभी कन्ट्रोल रूमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्घटना न्यूनीकरणका साथै प्रहरीको निगरानी र पारदर्शिताका लागि सिसिटिभी जडान गरिएको बताए ।
प्रदेशको रोल्पा बाहेक ११ जिल्लामा सिसिटिभी जडान भएको भन्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभी जडानपछि सुरक्षाप्रति जनताको विश्वास अझ बढ्ने बताए । उनले ट्राफिक व्यवस्थापनमा समस्या र बढी दुर्घटना हुने क्षेत्रमा समेत सिसिटिभी निगरानी बढाउनुपर्ने भन्दै त्यस्ता स्थानको पहिचान गर्न समेत आग्रह गरे ।
सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराधपछि भाग्ने अवस्थाको अन्त्य पनि सिसिटिभी जडानले हुने अपेक्षा उनले गरे। प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरणमा सिसिटिभी जडानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा सिसिटिभी जडानका लागि ३ करोड बजेट विनियोजन भएपछि सिसिटीभी जडान गरिएको उनले बताए । बुटवलमा मात्र आठ स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
प्रतिक्रिया