काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली साउन २७ गतेमात्रै सिंगापुरमा १० दिन स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका थिए। उनको स्वास्थ्यमा फेरि समस्या देखिएकाले फलोअप उपचारका लागि जान लागेका हुन्।
कति गते जाने भन्ने निश्चित नभएपनि चाँडै जान लागेको प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेका क्याबिनेट चिकित्सक डा. दिलिप शर्माले बताए । उनले भने, ‘चाँडै नै फलोअपको लागि जाने तयारी भएको हो, तर मिति भने टुंगो लागिसकेको छैन।‘ प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए ।
साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए। तोकिएको समयभन्दा दुई दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ ।
उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन्। जसले गर्दा उनलाई प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्लन चिकित्सकहरूले बताउँदै आएका छन् । सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी एकता र सरकारको काममा उनी व्यस्त भएका थिए। जसका कारण पनि उनलाई स्वास्थ्य समस्दा देखिएको बताइएको छ ।
१ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया