९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ऐतिहासिक देवदह ताल ओझेलमा



परासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौली ओझेलमा परेको छ । देवदह तालको आवश्यक प्रचारप्रसार तथा विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिणमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा, सभाकक्ष, सुन्दर बगैँचा र हरियालीसहितको रमणीय वातावरण रहेको छ । उचित सरसफाइको कमीका कारण ताल भने जलकुम्भीले भरिएको छ । दहको छेउछाउमा भने निर्माण कार्य भएको छ । वरिपरि तारजालीले घेरिएको छ । साम्यमाई मन्दिर परिसरमा फलफूलका बोट विरुवा लगाईएको छ ।

देवदह ताल तरगौलीमा कोलिय गणराज्यभित्र पर्ने मायादेवी (भगवान् गौतमबुद्धकी आमा)ले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको बुदस्य जीवनमा वृत्तान्त नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ । वास्तविक देवदह ताल यही तरगौली भए पनि ओझेलमा पर्दै गएको ऐतिहासिक देवदह ताल संरक्षण समितिका अध्यक्ष टेकबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६ आइतबार ००:००  ८ : २९ बजे