९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चारनम्बरको व्यस्त सडकमा गुञ्जिए दुई दर्जन स्रष्टा



मायादेवी अनलाइन, वाणगंगा ।
मध्यान्हको ठिक १२ बजे । प्रचण्ड गर्मी । सडक तातेर आईरहेको तातो राप । पूर्व पश्चिम राजमार्गमा सवारी साधान र मानिसहरुको आवातजावत । छेउछाउ वरपर रहेका पसलहरुमा व्यापारीहरु व्यापारमा मस्त । यिनै परिदृश्यमा त्यो चर्को घाममा केही व्यक्तिहरु बुद्धमूर्ती अगाडी चहलपहल बढाउँदै थिए । कोही माइक लिन दौडदै थिए । कोही छाता ओढेर उभिरहेका थिए । कोही व्यानर टाँस्न व्यस्त देखिन्थे । अन्य समयमा भन्दा नितान्त फरक देखिएको यो दृश्य पछि केही व्यक्तिहरु टक्क सडकमा रोकिएर नजर लगाउँदै थिए । नभन्दै केही समयमा मानिसहरुको चहलपहल ह्वात्तै बढ्यो । साहित्य सिर्जनाहरु गुञ्जन थाले ।
प्रगतिशील लेखक सङ्घ कपिलवस्तुले जिल्लामा पहिलो पटक आयोजना गरेको सडक साहित्य बाचन कार्यक्रममा यस्तै यस्तै नयाँपनको आभास दिइरहेको थियो । कार्यक्रममा जिल्लाका करिब दुई दर्जन बढी क्रियाशिल साहित्यकारहरुको जमघट देखिन्थ्यो । तिनै साहित्यकारहरुले चारनम्बरमा गुञ्जाएका सिर्जनाहरुले एका तर्फ देशप्रेम, समाज सुधारको सन्देश दिइरहेका थिए भने अर्कातर्फ भष्ट्राचार, अनियमितता, विसङ्गती आदि माथि चोटिलो प्रहार गरिरहेका थिए ।
बाल कवयित्री जोशिका कँडेल र आरध्य पौडेलको छन्दबद्ध कविताले दर्शक दीर्घामा उभिइरहेका दर्शकहरुको मन तनक्क तानेको थियो । देशप्रेम र समाज सुधारको ओकालत गरेका बाल कविताले साच्चिकै कार्यक्रमको गरिमा बढाएको थियो ।
यस क्षेत्रका चर्चित गजलकार समिर सायरले प्रस्तुत गर्नुभएको

“जिव्रो छ जिव्रो भएर पनि बोल्ने रहर छैन्,
तिमीलाई सुनाउने जस्तो खबर छैन् ।”

भविष्य खोज्दै हिडेका नानी बाबुहरु
यहाँ सब थोक छ अवसर छैन् ।।”

नामक गजलले समाजमा भएका विकृतीलाई पस्केको थियो ।
प्रगतिशिल लेखक संघका कोषाध्यक्ष समेत रहेका पत्रकार चन्द्रकान्त न्यौपाने ‘रसिक’ ले पस्कनुभएको “भुँडी” शिर्षकको व्यङ्ग्यात्कम कविताले नेता, कर्मचारी, व्यापारी, ठेकेदार लगायतले गर्ने भष्ट्राचार र सरकारी अड्डामा हुने बेथितीलाई व्यङ्ग्यात्मक रुपमा प्रहार गरेको थियो ।
अछामका स्रष्टा जगत अधिकारीको यो गजलले सबैलाई भावुक बनाएको थियो । धनि र गरिब बीचको विभेदलाई गजलकार अधिकारीले राम्रैसंग प्रस्तुत गर्नुभएको थियो ।

“हजुरको विचारमा नहुन पनि सक्छ मेरो विचारमा छ ।
त्यस्तो लाग्छ मान्छेको जीन्दगी खुकुरीको बीच धारमा छ ।
गरिबले अस्पताल जान भन्दा घाट जान रहर गर्यो
कम्तिमा लिनेहरुले त निशुल्क लिन्छन्, यही मेरो उद्धारमा छ”

यसैगरी कपिलवस्तुका सर्जक तथा साहित्य आन्दोलनका अगुवाहरु ऋषिकेशव भारद्धाज, नित्यानन्द पाण्डे, दिलिप कार्की, लेखनाथ घिमिरे, पुनाराम गिरी, अर्जुन शर, विष्णु भण्डारी, दिपक अनुरागी, बुद्धिसागर बेल्वासे लगायतले प्रस्तुत गर्नुभएका छन्दबन्द तथा गद्य कविता, गजल र मुक्तकले मूलुकमा व्याप्त भष्ट्रचार र बेथिती माथि तिखो व्यङ्ग्य प्रहार गर्दै समाज सुधारको सन्देश दिएका थिए ।
यस्तै कार्यक्रममा जिल्लाका युवा स्रष्टाहरुको पनि कमी थिएन । सिर्जना मार्फत श्रृगार, करुण र हास्यरसले भरिपूर्ण भएका सिर्जनाहरु बाचन गर्दा युवाहरुलाई चर्को घामको कुनै प्रवाह थिएन । सञ्जय लुनार, राम अवतार चौधरी, शान्ता थापा, राधा पाण्डे, प्रकाश क्षेत्री लगायतका कविता, मुक्तक, भावना तथा गजलमा तालि बजाउनेको संख्या पनि कमी थिएन ।
प्रगतिशिल लेखक संघ कपिलवस्तुले जिल्लाका सडक साहित्य मार्फत समाज सुधार्ने अभियान सुरु गरेको छ । साउन ३२ गते जितपुर चारनम्बरबाट सुरु भएको सडक साहित्य कार्यक्रम अब प्रत्येक महिनाको अन्तिम शनिबार जिल्लाका महत्वपूर्ण ठाउँहरुमा सञ्चालन हुने अध्यक्ष अर्जुन शरले जानकारी दिनुभयो ।
अब दोस्रो कार्यक्रम आगामी भदौको अन्तिम शनिबार वाणगंगा ७ बनगाईको घेरुवा बनगाईमा गर्ने हुनेछ । सङ्घका सचिव दिपक अनुरागीको सञ्चालन तथा उपाध्यक्ष नित्यानन्द पाण्डेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रमलाई अब साहित्यिक आन्दोलनको रुपमा विकसित गर्दै साहित्यमा रुचि राख्ने सबैलाई एकताबद्ध गर्ने गरी अगाडी बढ्ने प्रगतिशिल लेखक सङ्घले जनाएको छ । यसैबीच जीप दुर्घटनामा शनिबार निधन हुनुभएका कपिलवस्तु इमिलिया स्थायी घर भई बुटवलमा पत्रकारिता गर्दै आउनुभएका होनाहार पत्रकार डायलसन अधिकारीको निधन सङ्घले श्रद्धाञ्जली व्यक्त गरेको छ । पत्रकार अधिकारीको निधनले समग्र पत्रकारिता जगतमा अपुरणीय क्षती भएको भन्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना पनि व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ५ : २६ बजे