काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समीकरणमा एकाएक उथलपुथल भएको छ । बामदेव गौतम उपाध्यक्षमा चयन र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालको वरियतासमेत हल्लिएको छ । हिजो बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा झलनाथ खनालको दोस्रो बरियतासम्बन्धी प्रस्ताव विधिवतरुपमा पेश गरेपछि नेता नेपालको वरियता हल्लिएको हो ।
खनालले आफू नेता नेपालभन्दा वरिष्ठ भएकाले दुई अध्यक्षपछिको वरियतामा रहनुपर्ने माग एक वर्षअघि नै बैठकमा राखेका थिए । खनालको यो माग शुक्रबार विधिवत रुपमा प्रवेश भएको र त्यसमाथि गम्भीर छलफल पनि गरिएको सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले बताउनुभयो ।
वरियतासम्बन्धी खनालको प्रस्तावमाथि थप छलफल गरी अर्को बैठकबाट टुंगो लगाइने उहाँले बताउनुभयो । शुक्रबारको बैठकमा खनालले आफ्नो मागलाई एजेण्डा बनाउनुपर्ने भन्दै वरियताको कुरा उठाएपछि एकसरो छलफल भएको एक सचिवालय सदस्यले बताउनु भयो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले भने वरिष्ठता खोज्ने हो भने कम्युनिस्ट आन्दोलनमा को पहिले लाग्यो भन्नेबाटै खोजिनुपर्ने भन्दै आफू खनालभन्दा वरिष्ठ रहेको बताउनु भएको थियो । नेकपाका एक नेताले दुई अध्यक्षले झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेलका सन्दर्भमा ‘सरप्राइज’ दिएर माधवकुमार नेपाललाई किनारामा पार्न खोजेको टिप्पणी गरेका छन् । यसमा ओली र प्रचण्ड मिलेको उनको दाबी छ । शुक्रबारका सबै प्रस्ताव ओली र प्रचण्ड दुवैले ल्याएका हुन् ।
३२ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया