चितवन ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको अनलाइनखबरलाई बताए ।
‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।
लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दामै मुद्दा अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।
पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए।पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए। तर, सो आरोप लामिछानले अस्वीकार गर्दै आएका छन्।
प्रतिक्रिया