मायादेवी अनलाइन, वाणगंगा ।
विहीबार परेको जनैपूर्णिमा तथा ऋषितर्पणी पर्वको अवसरमा प्रदेश सरकारले विदा दिएको छैन् । आज भन्दा चार दिन अगाडी मुस्लिम समुदायको बकर ईदमा सार्वजनिक विदा दिएको प्रदेश सरकारले हिन्दुहरुको महत्वपूर्ण पर्वमा विदा नदिएको हो । प्रदेश सरकारले जनै पूर्णीमामा सार्वजनिक विदा नदिए पछि चौतर्फि आलोचना भएको छ । यद्यपि प्रदेश नं. २ सरकारले भने आज सार्वजनिक विदा दिएको छ ।
यता प्रदेश सरकारले विदा नदिए पनि प्रदेशका कतिपय स्थानीय तहले विहीबार विदा दिएका छन् । जसमा गुल्मी, दाङ र अर्घाखाँची रहेका छन् । यी तीन जिल्लाका कतिपय स्थानीय तहमा आज विदा दिइएको छ । प्राप्त समाचार अनुसार गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लामा रहेका २ नगरसहित १० वटा गाउँपालिकामध्ये ५ गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन् ।
बिहीबार साउन ३० गते परेको रक्षा बन्धनको अवसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन् ।
यता जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा बिदा दिइने भएको छ । हिन्दुहरूको महत्त्वपूर्ण चाडका रूपमा रहेकाले सरकारले बिदा कटौती गरे पनि स्थानीय बिदा समायोजन हुने गरी बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए ।
संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा बिदा दिइएको जानकारी गराए । ’विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको बोध गर्दै बिदा दिएका हौँ’ संयोजक विकले भने । शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा बिदा दिँदै आएको छ ।
उता अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्दै रक्षाबन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो ।
त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पनि बिहीबार जनैपूर्णिमाका दिन बिदा दिने निर्णय गरेको अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया