गुल्मी ।
गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लामा रहेका २ नगरसहित १० वटा गाउँपालिकामध्ये ५ गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन् ।
बिहीबार साउन ३० गते परेको रक्षा बन्धनको अवसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन् ।
साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा अझै पनि प्रचलित छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
२९ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया