एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका छन् । पाकिस्तानी स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री खानले पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका हुन् ।
प्रधानमन्त्री खानले कश्मीर भ्रमणपश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । खानले आजाद जम्मू कश्मीरको विधानसभामा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ ।
भारत सरकारले भारत प्रशासित जम्मू(कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै देशबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ ।
पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन । यसैसाताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए ।
अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई देशको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।
प्रतिक्रिया