रोल्पा ।
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने भएको छ । केही दिनअघि बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए । ’पार्टीको यो निर्णयसँगै अब रोल्पा जिल्लाभर चल्ने सबै सरकारी गाडी आवतजावतमा प्रतिबन्ध लाग्छ,’ सेक्रेटरी मानवले भने ।
पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा पनि शुद्धीकरण अभियान संचालन गरिने भएको छ । शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी सदस्यलाई करिब २ दर्जनमा झारिएको बताएको छ । शुद्धिकरण तल्लो कमिटीसम्म पुग्ने सो पार्टीको अर्का एक नेताले जानकारी दिए ।
जिल्ला ईन्चार्ज जयप्रकाश रोका केही महिनाअघि पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउँमा सन्तोष सुवेदी प्रयासलाई जिम्मा दिएको बताइएको छ ।
नवनियुक्त जिल्ला ईन्चार्ज प्रयास सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता झक्कु प्रसाद सुवेदीका छोरा हुन् । यसैगरी, पार्टीले जिल्ला सेक्रेटरीमा मानवलाई जिम्मेवारी दिएको बताइएको छ ।
२९ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया