९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा उद्योगको क्षेत्रमा लगानी बढ्दो, महिलाको नाममा सबैभन्दा बढी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा महिलाको नाममा साना उद्योग र बाणिज्य फर्म खुल्नेक्रम बढेको छ । महिलाको नाममा फर्म दर्ता गर्दा निःशूल्ल्क हुने भएकाले उनीहरुको नाममा फर्म दर्ता बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन कुमार केसीका अनुसार कुल एक करोड सम्म पूँजी भएको फर्म संचालनका लागि पुरुषहरुको नाममा फर्म दर्ता गरिए २० हजार दर्ता शुल्क लाग्ने गर्दछ । तर महिलाको नाममा त्यही फर्म दर्ता गर्दा निबेदन बापतको २ सय रुपैँया मात्र लाग्ने गर्दछ ।
गत आर्थिक बर्ष २०७५/०७६ मा महिलाको नाममा १ सय ४४ साना र लघु उद्यम दर्ता भएका छन् । सो आर्थिक बर्ष ११ सय ५९ साना उद्योग र ६२ लघु उद्यम दर्ता भए । मलिलाहरुले कृषि र पशुको फर्म बढी दर्ता गराएको प्रमुख केसीले बताए । यस्तै गत आर्थिक बर्ष कुल १ हजार ८ वटा बाणिज्य फर्म दर्ता भएका थिए । जसमध्ये सबै भन्दा बढी ३ सय ८ वटा किराना पसल र सबै भन्दा कम गिफ्ट हाउस दर्ता गरिए । दर्ता भएका फर्महरुबाट २ हजार ४५६ पुरुष र ९ सय ९ महिला रोजगारी पाएका छन् ।
सरकारले महिलाको नाममा एक करोडसम्मको पूँजीको फर्म खोल्दा महिलाको नाममा दर्ता शुल्क नलाग्ने भए पछि महिलाको नाममा उद्योग धन्दा खोल्नेक्रम बढेको केसीले बताए । ‘कार्यालयमा महिलाको भीड लाग्ने गरेको छ, दर्ता शुल्क निःशुल्क भएर यस्तो भएको हो’ उनले भने । कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा पसल संचालन गर्नका लागि जीर्ण सप्लायर्स नामको फर्म दर्ता गराएकी श्वेता कनौडियाले महिलालाई दिईएको सहुलियतका कारण आफ्नो नाममा फर्म दर्ता गराएको बताईन । ‘परिवारको सल्लाहअनुसार र महिलाको नाममा फर्म दर्ता गर्दा छुट हुने भएकाले मरो नाममा पसल खोलको हो’ उनले भनिन ।
कपिलवस्तु नगरपालिका– ३ मा आमे एण्ड साई जनरल स्टोर खोलेर ब्यवसाय थालेकी रिता घर्तीले दर्ता छुट भएकाले आफ्नो नाममा पसल खोलेको बताईन । ‘सरकारले दिएको सुबिधाको उपयोग गरेर पसल खोलेकी हँु’ उनले भनिन । उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मीले सरकारी सुबिधाका कारण महिलाको नाममा उद्योगधन्दा खुल्नेक्रम बढेको बताए । ‘अहिले महिलाको नाममा उद्योग संचालनका लागि सिफारिस लिन आउने बढेका छन्’ उनले भने ।
घर ब्यवहारमा सीमित रहने महिलाहरु उद्योग ब्यापारमा लाग्नु राम्रो कुरा भएको उनले बताए । उता घरेलु तथा साना उद्योग कार्यालयले गत आर्थिक बर्ष कुल २ करोड १ लाख ३० हजार २६५ रुपैया राजस्व संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६ मंगलबार ००:००  १० : ३१ बजे