९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रलेस रुपन्देहीको कार्यालय उद्घाटन



बुटवल ।

साहित्य तथा लेखनको क्षेत्रबाट राजनीतिक, सामाजिक क्षेत्रमा सुधार गर्ने उद्वेश्यले प्रगतिशील लेखक संघको स्थापना भएको हो । देशका सबै कम्युनिष्टहरुको साझा संस्थाको रुपमा क्रियाशील प्रगतिशील लेखक संघको स्थापना २००९ सालमा स्थापना भएको हो । २००६ सालमा स्थापना भएको एउटो कम्युनिष्ट पार्टी अहिले भिभिन्न चिरामा विभाजित भएपनि प्रगतिशील लेखक संघमा अझै विभाजन भएको छैन ।

पछिल्लो समयमा प्रगतिशील लेखक संघलाई हेर्ने कम्युनिष्ट पार्टीका नेताहरुको विचार फरक आएपनि यो संगठन एउटै छ । देशमा राज्य व्यवस्था परिवर्तन भएसंगै ७७ जिल्लामा नै प्रगतिशील लेखक संघले आफ्ना गतिविधिलाई निरन्तरता दिएको छ । रुपन्देहीमा पनि प्रगतिशील लेखक संघ २०५३ सालदेखि क्रियाशील छ । साहित्यको माध्यामबाट राज्य, सरकार र राजनीतिक दललाई खबरदारी गर्दै आएको प्रगतिशील लेखक संघ रुपन्देहीले बुटवलमा आफ्नो कार्यालय स्थापना गरेको छ । जीवराज आश्रित प्रतिष्ठानको सहयोगमा  प्रगतिशील लेखक संघले कार्यालय स्थापना गरेको हो ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानको भवनमा राखिएको कार्यालयको एक कार्यक्रमवीच बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै मेयर शिवराज सुवेदीले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको संगठनलाई मजवुत बनाउनुपर्ने र त्यसका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताउनु भयो । स्थापनाकालदेखि नै प्रगतिशील लेखक संघले कम्युनिष्ट तथा  वामपन्थीहरुको आन्दोलनलाई साथ दिंदै र खबरदारी गर्दै आएको बताउनुहुन्छ संघका निवर्तमान अध्यक्ष तथा साहित्यकार देवेन्द्रराज घिमिरे ।

प्रगतिशील लेखक संघको भूमिका अझै पूर्ण नभएकाले प्रगतिशील आन्दोलनलाई व्यवस्थित बनाउन कार्यालयको स्थापना गरिएको संघका रुपन्देही अध्यक्ष दलबहादुर गुरुङले बताउनु भयो । प्रलेस रुपन्देहीका सचिव श्यामलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६ मंगलबार ००:००  ५ : ४५ बजे