काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताएका छन् ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए ।
उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने पनि बताए । वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए ।
आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए ।
समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिए । नेपाली प्राविधिकहरु पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताए ।
मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई व्यवस्थित गरिने पनि बताए । विस्थापित हुने सबै नेपाली दाजु(भाइ नै भएकोले अन्याय नहुने गरी व्यवस्थापन गर्ने सरकारको प्रतिवद्धता रहेको बताए । मन्त्री भट्टराईले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिदै वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने बताए ।
विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ । निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया