९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश लोकसेवा आयोगका अध्यक्ष भट्टराईले लिए शपथ



बुटवल ।
पाँच नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बीच तुल्सीपुर उच्च अदालतका मुख्यन्यायाधीश रमेश पोख्रेलले भट्टराईलाई शपथ गराएका हुन् ।
लोकसेवा आयोगका तीन सदस्य पदाधिकारीमध्ये अध्यक्षलाई मुख्यमन्त्री नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था छ । मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको उपस्थितिमा उनले शपथ ग्रहण गरेका हुन् । यस्तै लोकसेवा आयोगको मुख्य कार्यालय बुटवलमै राख्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले हाटबजारस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै छेउमा रहेको भवनमा लोकसेवा आयोगको कार्यालय तोकेको हो ।
आयोगको कार्यालय मन्त्रीपरिषद् बैठकले तोक्ने व्यवस्था रहेको छ । सन्धिखर्क नगरपालिका-१० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् ।
लोकसेवा गठनसँगै प्रदेश ५ मा कर्मचारी नियुक्तीको बाटो खुलेको छ । प्रदेशमा करिब १ हजार ५ सय दरबन्दी खाली रहेको छ । केही महिनाभित्रै लोकसेवाले विज्ञापन खुलाउने जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६ मंगलबार ००:००  १ : ४५ बजे