दाङ ।
दाङमा प्रहरीले एनसेल डिलरमा छापा मारेर बिक्री हुनु पूर्व नै प्रयोगमा आएका सिमकार्डसहित विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।
घोराही उपमहानगरपालिका–१५ विपी चोक नजिकै गणेश रेग्मीले आफ्नै घरमा सञ्चालन गरेको एनसेल डिलरमा प्रहरीले छापा मारी बिक्री नहुँदै प्रयोगमा आएका एनसेलका सिम, स्मार्टका सिमकार्ड, विभिन्न व्यक्तिका फोटो, लाईसेन्स, नागरिकताको प्रतिलिपि नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिक्री पूर्व नै एक्टिभ भएका एनसेलका दुई सयवटा सिमकार्ड, स्मार्ट स्ट्याण्डर प्याक लेखिएका ६ सय ७० थान सिमकार्ड, स्मार्ट मास्टर सिम ६३ थान, स्मार्ट सेल लेखिएका ४ सय ८० थान सिमकार्ड नियन्त्रणमा लिएको छ ।
त्यसैगरी एक हजार २ सय ६७ वटा नागरिकताको प्रतिलिपि, प्रत्येकको १०–१० वटाका दरले ४ सय ७८ वटा पासपोर्ट साईजको फोटोसहित तीनथान मोवाईल समेत प्रहरीले बरामद गरेको छ ।
अवैधरुपमा सिमकार्ड बिक्री वितरण भैरहेको सूचनाका आधारमा छापा मारेर ती सामग्री जफत गरिएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । सिमकार्ड खरिदका लागि भरिने फारममा एउटै व्यक्तिको फोटो दर्जनौँ संख्यामा रहेको प्रहरीको भनाई छ ।
त्यस्तै नागरिकता र सवारी चालक अनुमति पत्र पनि धेरै फारममा मिल्ने गरेको छ । एउटै व्यक्तिका नाममा दर्जनौँ फोटो, दर्जनौँ नागरिकता र लाईसेन्स फेला पर्नु र बिक्री नहुँदै चालु अवस्थामा सिमकार्डहरु फेला पर्नुले गैरकानूनी कार्य भएको पुष्टि भएको एसपी पाण्डेको भनाई छ ।
अपराधिक समूहलाई सिमकार्ड वितरणका लागि यस्तो गतिविधि भएको हुन सक्ने पनि प्रहरीको आशंका छ । साथै पसल सञ्चालक फरार हुनुले पनि गैरकानूनी काम हुँदै आएको बुझ्न सकिने प्रहरीको भनाई छ ।
दूर सञ्चार दुरुपयोग कसुर २०५३ को ऐन अन्तर्गत फरार गणेश रेग्मीविरुद्ध अदालतबाट मुद्दा दर्ता गरेर कानूनी कारवाहीको प्रकृया अघि बढेको एसपी पाण्डेले बताए ।
प्रतिक्रिया