९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्याङ्जाका सरकारी कार्यालय नै खाली, कुनैका कर्मचारी अमेरिका !



स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार स्याङ्जा सदरमुकामका २० सरकारी कार्यालयमा एकैपटक छड्के जाँच तथा अनुगमन गरेको छ ।

४ टोली खटाइएको अनुगमनका क्रममा छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर टोलीले प्रशासन कार्यालयमा ल्याएर जाँच गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । छड्केमा परेका कार्यालयका २७४ कर्मचारी मध्ये १९ अधिकृत तथा ७७ विभिन्न पदका कर्मचारीहरु कार्यालय हाजिरी नभएको भेटिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।

सदरमुकामका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारीहरु कार्यालयमा भेटिएका थिए । अनुगमनका क्रममा जिल्ला अस्पतालमा ८ अधिकृतसहित ३६ जना समयमा नै काममा नजाने गरेको प्रशासनले जनाएको छ । अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहेको तथा डाक्टर शुशिल मरासिनी वैशाखबाट कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।

डाक्टर मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डाक्टर पोख्रेल दुई हप्ते बिदामा रहनु भएको अस्पताका निमित्त प्रमुख डाक्टर रन्जु पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै आयोजना कार्यान्वयन इकाई (शिक्षा) का १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको बताइएको छ ।

यस्तै जिल्ला तथ्याङक कार्यालयमा ११ जना कर्मचारी रहेकोमा ९ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको स्पष्ट पार्नुभयो ।

कार्यालय छड्केमा पुनर्निर्माणमा ८, डिभिजन वन ७, हुलाकमा ७, सुन्तला जोनमा ६ जना, कृषि ज्ञान केन्द्रमा ५, भेटनरी अस्पतालमा ३, जिल्ला स्वास्थ्यमा २, कोलेनिकामा १, विद्युतमा १, जलश्रोत तथा सिँचाई विकास डिभिजनमा ४, आयुर्वेदमा २, राष्ट्रिय जिल्ला समन्वयमा ४, शिक्षा विकास तथा समन्वय इकाइमा १ तथा मालपोतमा १ जना कर्मचारी अनुस्थित रहेका भेटिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६ मंगलबार ००:००  ८ : २७ बजे