मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित श्रावणी मेलाका अवसरमा कपिलवस्तुका तीन महत्वपूर्ण तीर्थस्थलमा लाखौं भक्तजन आएका छन् ।
प्राचिन तौलेश्वरनाथ महादेब मन्दिर, रामघाट र लक्ष्मणघाट गरी झण्डै एक लाख भक्तजन कपिलवस्तुमा आएका हुन् । यहाँ आउने केही भक्तजनले घिस्रियर जलार्पण गरेका छन् ।
श्रावण महिनाको अन्तिम सोमबार बाणगंगा नदीमा स्नान गरि जल लिई बोलबमको नारा लगाउदै पाँच देखि आठ घण्टा बढि जमिनमा घस्रियर भक्तजनले महादेब मन्दिरहरुमा जलापर्ण गरेका हुन् । सदरमुकाम तौलिहवा स्थित प्राचिन तौलेश्वरनाथ महादेवमा जर्लापण गर्ने (लोटबम) का लागी भक्तजनको घुईचो लागेको थियो ।
यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुले श्रावणीमेलाको रुपमा मनाईने साउन महिनामा तौलिहवा स्थित तौलेश्वर महादेवको मंदिरमा जल चढाउने भक्तजनहरुको विशेष घुईचो लाग्ने गरेको हो ।
विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मंदीर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । संभवत नेपालकै शिवमंदीरहरुमा रहेको शिवलिंगहरु मध्ये सवै भन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको छ ।
दैनिक जसो मंदीरमा भक्तजनहरुको पूजाआजाका लागि घुईचो लाग्ने गरे पनि साउन महिनामा पर्ने प्रत्येक सोमवारका दिनमा भने यहाँ विशेष घुईचो हुने गर्दछ । मन्दिरमा जलापर्ण गर्नेहरुले रातभर जाग्राम बसि बिहान स्नान गरि जलापर्ण गर्ने गर्दछन ।
जलापर्णका लागि तिलौराकोट किनारमा अवस्थित प्राचिन भागिरथी (बाणगंगा) नदीमा स्नान गरि जल लिई भजन किर्तन गर्दै भक्तजनहरु ५ किलो मिटर टाढा रहेको ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन । आइतबार राती बाणगंगा नदिको तटमा श्रद्धालुले चुटका र भजन गाएर जागराम बसेका थिए ।
तौलेश्वर महादेवको मंदिरमा जल चढाउन कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र वलरामपुर जिल्लाबाट समेत हजारौ दर्शनार्थीहरु यहाँको शिवलिंगमा पुजा गर्न तथा मेला गर्न आउने गरेका छन् ।
प्रतिक्रिया