काठमाडौं ।
आज (सोमबार) देखि तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।
साथै आगामी तीन दिनसम्म देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ । यसैगरी पश्चिम पहाडी भूभाग तथा पूर्वका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला ।
यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताए । यसैगरी पूर्वका एकरदुई स्थानमा पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए ।
पर्सिदेखि भारी वर्षाको सम्भावना अझ बढ्ने मौसमविद् श्रेष्ठको अनुमान छ । उनका अनुसार दक्षिण भारतमा रहेको न्यून चापीय रेखा उत्तर नेपालतर्फ सरिरहेकाले पर्सि अर्थात् बुधबार सम्ममा त्यसको पश्चिमी टुप्पो नेपालको पश्चिमी क्षेत्रको माथि आइपुग्ने सम्भावना छ ।
प्रतिक्रिया