९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज बकर ईद पर्व मनाँइदै, प्रदेश ५ मा सार्वजनिक विदा



मायादेवी अनलाइन, कपिलवस्तु ।
’ईद ऊ जोहा’ अथवा ’ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ ।
यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।
हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो ।
आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समूदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाईहरूलाई डाँकेर मुस्लिम विशेषताले भरीएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् । वहूभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।
प्रदेश नं ५ मा विदा
इदको अवसरमा प्रदेश नं ५ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ । यद्यपी प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन, माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६ सोमबार ००:००  ६ : ११ बजे