वासिङ्टन ।
हालसालै चुरोट तानेको फोटो सार्वजनिक भएर ट्रोलको शिकार बनेकी प्रियंका चोपडा फेरि एकपटक प्रशंसाको पात्र बन्न पुगेकी छिन्।
आफूलाई आस्थ्मा भएको र तिहारमा मानिसहरुले धेरै पटेका पड्काउँदा धुवाँले आफूलाई असर गर्ने भनेरे केही वर्ष अगाडि भिडियो पोस्ट गरेकी प्रियंकाको गत महिना श्रीमान र आमासँग चुरोट तानेको फोटो पोस्ट भएपछि उनको चर्को आलोचना भएको थियो ।
तर शनिबारबाट उनको भारतभर प्रशंसा सुरुवात भएको छ । प्रियंकाले शनिबार अमेरिकामा आयोजित कार्यक्रममा पाकिस्तानी महिलाले सोधेको प्रश्नको उत्तर दिएकी थिइन् ।
प्रियंकाको उत्तर राष्ट्रवादी भएकोभन्दै फेरि एकपटक प्रियंकाको चर्चा र प्रशंसा सुरु भएको हो।
के भएको हो?
प्रियंका चोपडाले गत फेब्रुअरी २६ मा ‘जयहिन्द भारतीय सेना’ भनेर ट्वीट गरेकी थिइन् ।
फेब्रुअरी १४ मा पाकिस्तानस्थित आतंकवादी संस्थाले भारतीय सेनामाथि आत्मघाती आक्रमण गर्दा ४० भन्दाबढी भारतीय सेनाको मृत्यु भएको थियो ।
त्यसकै प्रतिक्रिया स्वरुप भारतीय सेनाले पाकिस्तानी भूमिमा गएर बालाकोट जिल्लामा आक्रमण गरेको थियो । भारतले तीन सयभन्दा बढी आतंकवादी मारेको दाबी गरेको थियो ।
तर उक्त दाबी अहिलेसम्म पुष्टि हुन सकेको थिएन । भारतले आतंकवादीलाई आक्रमण गरेको घटनापछि प्रियंकाले ट्वीट गरेकी थिइन् । उक्त ट्वीटकै बारेमा शनिबार पाकिस्तानी महिलाले प्रश्न गरेकी हुन् ।
प्रियंका संयुक्त राष्ट्रसंघको शान्ति स्दभावना दूत पनि हुन् ।
लस एन्जल्समा आयोजित ब्युटिकोन फेस्टिबलमा प्रियंकालाई सोधिएको थियो,‘तपाइँ राष्ट्रसंघको शान्तिका लागि सद्भावना दूत हुनुहुन्छ । तर तपाइँ पाकिस्तानसँग आणविक युद्ध होस् भनेर अभिव्यक्ति दिइरहनु भएको छ । तपाइँ यस्ता कुरामा अल्झिनु हुँदैन । म पाकिस्तानी हुँ, मजस्तै लाखौंले तपाइँको कामलाई साथ दिएको छ ।’
जवाफमा प्रियंकाले भनेकी थिइन्,‘पाकिस्तानमा मेरा धेरै साथी छन्, म भारतबाट हो । युद्ध मलाई पनि मन पर्दैन । तर म देशभक्त मानिस हुँ । यदी मैले कसैको चित्त दुखाएको छु भने मलाई माफ गर्नुहोला । तर मलाई लाग्छ हामी सबैले हिँड्ने मध्यम बाटो हुन्छ, जुन तपाइँको पनि छ । तपाइँले जसरी मलाइँ प्रश्न गर्नु हुँदैछ, हामी यहाँ चिच्याउन आएका होइनौं । प्रेम बाँड्न आएका हौं ।’
प्रियंकाले ती महिलाको भनाइँ पाकिस्तानको देशभक्तिले भरिएको र आफ्ना त्यसबेलाको अभिव्यक्ति भारतको देशभक्तिले प्रेरित भएको इंकित गरिन् । एजेन्सी
प्रतिक्रिया