९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विप्लव समूहको त्रासमा प्रदेश ५ का जनप्रतिनिधि



मायादेवी अनलाइन, वाणगंगा ।
नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रति प्रदेश ५ का जनप्रतिनिधि त्रसित भएका छन् । केन्द्र सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि यो समूह झनै आक्रमक हुन थालेको छ । शुक्रबार राती घटेका दुई घटनाले प्रदेश ५ का जनप्रतिनिधिलाई झनै त्रासमा पारेको छ ।
प्रदेश नं. ५ का दुई जिल्लाका दुई सरकारी गाडीमा शुक्रबार राती आगजनी गरियो । स्थानीय सरकारका प्रमुख चढ्दै आएका दुई सरकारी गाडीमा आगजनी गरिएको हो । घटना कपिलवस्तु र दाङ जिल्लामा घटेको हो । कपिलवस्तुको दक्षिणी क्षेत्र मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै दुई सरकारी गाडीमा अज्ञात समुहले आगो लगाएको छ ।
मायादेवी गाउँपालिकाको गाडीमा साढे १० बजे आगजनी गरिएको थियो भने वंगलाचुली गाउँपालिकाको गाडीमा पौने १ बजे आगजनी भएको प्रहरीले जनाएको छ । आगजनी गर्ने समूह अज्ञात रहेपनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गाडीमा आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ । पछिल्लो समय राज्य प्रति आक्रमक हुँदै गएको विप्लव समूहले नै आगो लगाएको स्रोतको दाबी छ ।
मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडी आगलागीबाट ध्वस्तै भएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो । आगजनी किन र कसले र्गयो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
उता दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडी पनि आगलागीबाट ध्वस्तै भएको छ । रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर ध्वस्त भएको हो । यो गाडी गाउँपालिका वडा नं. ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएको थियो ।
एकै रात दुई दुई ओटा सरकारी गाडीमा आगजनी गरिए पछि प्रदेश नं. ५ का जनप्रतिनिधि त्रसित बनेका छन् । यही डरले अधिकांश जनप्रतिनिधि सरकारी गाडी थन्काएर नीजि गाडी चढ्न थालेका छन् । केही दिन अगाडी एनसेल र एनटिसीको टावर ध्वस्त पारेको विप्लव समूहले सरकारी गाडी प्रति आक्रमक भएको हो ।
विप्लव समुहका कपिलवस्तु जिल्ला इन्चार्ज संगम पुनले सरकारी गाडीमा अवरोध गर्ने आफ्नो पार्टीको निती रहेको स्विकार गर्नुभएको छ । जनतामाथि थोपारिएको करको बोझ घटाउनका लागि पार्टीले यस्तो नीति लिएको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६ आइतबार ००:००  ६ : ५५ बजे