९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युवा संघका अध्यक्ष दिपशीखाले दिए सूर्य थापालाई पार्टी छाड्न चुनौती



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा)ले पार्टी केन्द्रीय सदस्य सूर्य थापालाई पार्टीको जिम्मेवारी छोड्न चुनौती दिएका छन् ।
पार्टीको केन्द्रीय जस्तो जिम्मेवार व्यक्तिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति बारम्बार आक्रमण गरेको भन्दै त्यस्तो प्रकारको आक्रमण अब सैह्य नहुने बताउँदै पार्टी अनुशान नमान्नेले आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुने अध्यक्ष दिपशीखाले पार्टी त्याग गर्न आग्रह गरेका हुन् ।
‘पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन,’ अध्यक्ष दिपशीखाले आफ्नो सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’
‘हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो,’ उनले आफ्नो व्यक्तिगत विचार भन्दै केन्द्रीय सदस्य थापालाई सुझावका रुपमा भनेका छन्, ‘यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !’

के भनेका थिए र केन्द्रीय सदस्य थापाले ?
नेकपाका नेता दिनानाथ शर्माको ‘झरीको शौन्दर्य’ नामक निबन्ध संग्रह विमोचनका अवसरमा प्रज्ञा भवन कमलादीको पुस्तकालयको सभाकक्षमा साउन २४ गते शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बोलेको विषयलाई लिएर थापाले व्यंग गर्दै आफ्नो सामाजिक संजालमा यस्तो स्टाटस राखेका थिए ।
‘आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्व चाँहि मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।
म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसैबेला पनि शान्तिको पक्षधर नै थिएँ । भित्रभित्रै ! मने, बुद्धिदिनेहरुको सही बात बुझ्नुपर्छ ।
हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एकजना मनैदेखि शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसँग क्रम भंग गर्दै हामीहरु यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि !’ आजको क्रान्तिकारी तरंग र मनोदशा !!!
स्मरण रहोस् यसअघि पनि थापाले बोलेका विवादास्पद विषयमा दिपशीखाले आपत्ति जनाउँदै आएका थिए । पत्रकारिता पृष्ठभूमि समेत रहेका नेकपा नेता थापा कृष्ण सेन स्मृति पुरस्कारबाट सम्मानित भएका व्यक्ति समेत हुन् । संसार न्यूजबाट साभार

प्रकाशित मिति : २६ श्रावण २०७६ आइतबार ००:००  १० : २९ बजे