९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पार्टी विपरित काम गरेको भन्दै विप्लवद्वारा आफ्नै नेतालाई कारवाही



काठमाडौं ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नै नेतालाई कारवाही गरेको छ । कास्की जिल्ला कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई कारवाही गरिएको हो ।
शुक्रबार पार्टीका कास्की जिल्ला इन्चार्ज रुपेशले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीतिविपरित नेता पक्राउसहितका आरोप लगाउँदै उनलाई कारवाही गरिएको उल्लेख गरेका छन् ।
उनीमाथि ‘पार्टी नीतिविपरित आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरुलाई अनुनय विनय गर्ने, आत्मसमर्पण गर्ने, नेता गिरफ्तार गराउनेजस्ता पार्टीलाई गम्भीर आँच आउने’ काम गरेको अभियोग लगाइएको छ । उनलाई पार्टीको साधारणस सदस्य समेत नरहने गरी कारवाही गरिएको हो । पार्टीले सन्तोषसँग कुनै काम कारवाही नगर्न र नगराउन समेत आग्रह गरेको छ ।
पार्टी कारवाहीमा परेका विप्लव नेकपाका नेता केही समयअघि सुरक्षाकर्मीबाट पक्राउ परेका थिए। पक्राउपछि उनको रिहाइका लागि उच्च अदालत पोखरामा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै अदालतले उनलाई थुनमुक्त गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६ शनिबार ००:००  १० : ५९ बजे