काठमाडौं ।
आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।
हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ । त्यसैले हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा पनि भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।
शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार राति भने पश्चिमी पहाडि भू—भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् ।
आइतबार दिउँसो पनि शनिबार दिउँसोको जस्तै अवस्था रहने छ । तर, राति भने पश्चिमी भू—भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।
१७ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया