मायादेवी अनलाइन, तौलिहवा ।
गएराति कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८, हरिहरपुरको एनसेल टावरमा पनि आगजनी भएको छ । सुतलीको बोरा र घुर जम्मा गरेर टावरको तारहरु भएको स्थानमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी देवेन्द्र पाण्डेले बताए ।
रुपन्देहीको गैडहवा गाउँपालिका–२ को सानो धुपहीमा रहेको एनसेल टावरमाथि अज्ञात समूहले आगजनी गरी क्षति पुर्याएको छ । राति करिब १२ बजेको समयमा टावरमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज ईश्वर कार्कीले बताए । आगजनीबाट तारहरु जलेर क्षति पुगेको उनको भनाइ छ । उनका अनुसार टावरको अन्य भागमा क्षति पुगेको छैन । टावरनजिकको बस्तीका स्थानीयले आगो दन्किएको देखेपछि राति प्रहरीलाई खबर गरेका थिए ।
अर्घाखाँचीमा भने एनटिसीको टावरमा आगजनी गरिएको छ । पाणिनी गाउँपालिका–५ मा रहेको एनटिसी टावरमा अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको अर्घाखाँची प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार मट्टीतेल प्रयोग गरी आगजनी गरिएको र आगजनीबाट बिटिएस बक्समा क्षति पुगेको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित मगरटोलमा रहेको एनसेल टावरमा पनि गयराति आगजनी गरिएको छ । नवलपरासीमा पनि मट्टितेल बोरा र घुर जम्मा गरेर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
आगजनीबाट टावर नजिकै रहेको जेनेरेटरमा पूर्णरूपमा क्षति पुगेको छ। बस्ती नजिकै रहेको टावरमा आगजनी भएलगत्तै स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणामा लिइएकाले ठूलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए ।
यी सबै घटना रातको साढे ११ देखि साढे १२ बजेभित्रको समयमा भएको प्रहरीले जनाएको छ । एनसेलले सरकारलाई तिर्नुपर्ने कर नतिरेको भन्दै केही महिना अघि विप्लव समूहले यसै गरी एनसेल टावरमा आगजनी गरेको थियो ।
गएराति गरिएका आगजनी पनि विप्लव समूहले नै गरेको हुन सक्ने बताइएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया