काठमाडौँ ।
नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै केही दिनको लागि नेपाल नरहने भएपछि पार्टीमा बेहाल हुने भएको छ । केहीदिनअघिबाट स्कुल विभागको छिनोफानो नमिलेर तातेको नेकपा अध्यक्षद्धय बाहिर हुने भएपछि फेरि अनिर्णित बन्दै बेहालको अवस्थामा पुगेको हो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली १२ वर्ष अघि प्रत्यारोपण गरेको आफ्नो मिर्गौलाको जाँचका लागि साउन १८ गते सिंगापुर र दाहाल पत्नी सीता, छोरी रेनु र नातिनातिनासहित साउन १४ गते बिहान नै दुबई जानुपर्ने भएपछि उनीहरुले सोमबारको केन्द्रीय सचिवालय बैठकमा विभागबारेको छलफल नै गरेनन् । अब उनीहरु आएपछि मात्र विभागको टुङ्गो लाग्ने छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अव उक्त बैठक साउन २८ गते मात्रै बस्ने भएको छ। त्यसको अर्थ ओली उपचारबाट फर्किएपछि मात्रै बैठक बस्ने छ।
अध्यक्षले नै छलफल पछि गरौँला भन्दै आग्रह गरेपछि त्यो स्वीकार गर्नुको विकल्प आफूहरुसँग नभएको सचिवालय बैठकमा सामेल एक सदस्यले बताउनु भएको छ ।
मुख्य नेताको बहानामा मुख्य बैठक नै पटकपटक धकेलिँदा भने पार्टी पंक्तिमा राम्रो सन्देश नगएको उनको भनाइ छ।
पार्टीको बाँकी एकता टुंग्याउने क्रममा नेकपामा स्कुल विभागको प्रमुख ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई बनाउने भन्नेमा असारको पछिल्लो सातायता विवाद सुरु भएको थियो ।
घोषित मितिमा पार्टीको विवाद टुंग्याउन नसकेपछि दाहालले त्यसपछि एकता प्रक्रिया साउनभित्रै टुंगिने दाबी गरेपनि त्यो कार्यान्वयन नहुने देखिएपछि पार्टीका उच्च नेताहरु निरास भएका छन्।‘पार्टी्भित्र झन स्पष्टरुपमा सबै काम टुंगिने आस गर्दा झन खिन्न हुने वातावरण सिर्जना भएको छ । यसरी न पार्टी अघि बढ्न सक्छ न सरकार,’ भन्दै ती सदस्यले पार्टीको बेहालको स्थिति भएको बताउनु भयो ।
प्रतिक्रिया