मायादेवी अनलाइन, कृष्णनगर ।
मानव बेचविखन विरुद्ध कपिलवस्तुमा विभिन्न संघसंस्थाले सीमा निगरानी गर्दै आएपनि बेचबिखनको घटनामा कमी आएको छैन । संघसंस्थाहरुका तथ्यांकलाई नियाल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । मानव बेचबिखन विरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना गृह (पीआरसी) र आफन्त नेपालले सीमा निगरानी गर्दै आएका छन् । ती संस्थाको विगत तीन वर्षको वार्षिक प्रतिबेदनलाई हेर्दा बेचबिखनका घटनामा वृद्धि हुँदै गएको पाएको हो ।
आर्थिक वर्ष २०७३।०७४ मा २सय ३५ किशोरीहरुको उद्धार गरेका संस्थाहरुले गतवर्ष अर्थात आ.व. २०७४।०७५ मा २सय७९ किशोरीहरुलाई भारत जाने क्रममा घर फर्काएका थिए । तर आर्थिक वर्ष २०७५।०७६ को तथ्यांकलाई हेर्दा गतवर्षभन्दा दोब्बर किशोरीहरुलाई उद्धार गरेका छन् । आ.व. २०७५।०७६ मा मात्र ५सय १२ किशोरीहरुलाई ती संस्थाहरुले बेचिनबाट जोगाएका छन् । दुवै संस्थाले वर्षमा ८ हजार २सय ४७ किशोरीलाई मानव बेचबिखनबारे परामर्श समेत दिएको जनाएका छन् ।
जसमध्ये शान्ति पुनस्र्थापना गृहले १० किशोरीलाई भारतबाट नेपाल फर्काएको तथ्यांकमा उल्लेख छ । शान्ति पुनस्र्थापना गृहले एक वर्षमा २सय ५५ जना किशोरीलाई उद्धार गरेको संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उद्धार गरिएका किशोरीहरुमध्ये १सय २५ जनालाई अभिभावक बोलाई जिम्मा लगाएको भट्टराईले बताए । १सय २८ किशोरीलाई भने प्रहरीको जिम्मा लगाई परिवारसँग पुनर्मिलन गराएको संयोजक भट्टराईले जनाए । उनका अनुसार २ किशोरीलाई अन्य संस्थाको जिम्मा लगाएको छ । पीआरसीले वर्षमा ४हजार १सय ३८ जनालाई परामर्श दिएको बताइएको छ । बेचबिखनमा परेकामध्ये ५ युवतीले बेचबिखन तथा ओसारपसार विरुद्ध प्रहरीमा मुद्धा दायर गरेको पीआरसी संयोजक भट्टराईले जानकारी दिएका छन् ।
यता मानव बेचबिखन विरुद्ध एकदशकदेखि सीमा निगरानी गर्दै आएको आफन्त नेपालले एक वर्षमा २५७ किशोरीलाई बेचिनबाट जोगाएको छ । जिल्ला संयोजक केसर विश्वकर्माका अनुसार १सय २१ किशोरीलाई संस्थामार्फत परिवारसँग पुनर्मिलन गराएको छ । भने १सय २२ किशोरीलाई प्रहरीको जिम्मा लगाई सोधपुछपछि घर फर्काएको छ । उद्धार गरिएका किशोरीमध्ये १४ जनालाई सुरक्षित आवास गृह चितवन पठाइएको विश्वकर्माले जनाएका छन् । आफन्त नेपालले उद्धार गरेका दुई किशोरीले विचौलिया विरुद्ध मुद्धा दायर गरेको संयोजक विश्वकर्माको भनाई छ । यस संस्थाले आर्थिक वर्ष २०७५।०७६ मा ४ हजार १ सय ९ जनालाई सीमा निगरानीका क्रममा बेचबिखन बिरुद्ध परामर्श दिएको जनाएको छ ।
सोझासाझा किशोरीहरुलाई बैदेशिक रोजगारीको प्रलोभन देखाई विचौलियाले भारततर्फ लैजाने क्रममा भारत तथा सीमाक्षेत्रबाट ती नेपाली किशोरीहरुलाई उद्धार गरी घर फर्काउन सफल भएको पीआरसी संयोजक भूमिराज भट्टराईले बताए । जिल्लाको पीआरसी र आफन्त नेपालले एक दशकदेखि मानव बेचविखन, ओसारपसार तथा लैङ्गिक हिंसा विरुद्ध कृष्णनगर सीमा क्षेत्रमा २४सै घण्टा निगरानी गर्दै आएका छन् । अभिभावकको सल्लाहविना बैदेशिक रोजगारी वा विवाहको नाटक देखाई गैर कानुनी रुपमा किशोरीहरुलाई विचौलियाले भारत तथा तेस्रो मुलुक छिराउने गरेको संघसंस्थाहरुको प्रतिबेदनमा उल्लेख छ । जिल्लाको कृष्णनगर क्षेत्रमा कार्यरत संघसंस्थाहरु सीमा नाका, लिङ्कगेट र यात्रुगेटमा बिहानदेखि बेलुकासम्म सीमा निगरानीमा सक्रिय छन् । मानव बेचविखनका घटनामा न्यूनीकरण ल्याउन इलाका प्रहरी कार्यालय कृष्णनगर, अस्थायी प्रहरी चौकी लिंकगेट र सशस्त्र प्रहरीको पूर्ण सहयोग रहेको दुवै संस्थाका प्रमुखहरुले बताएका छन् ।
१३ श्रावण २०७६ सोमबार ००:००
2
Shares
प्रतिक्रिया