१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कृष्णनगरको मुहार फेर्न प्रहरीको अभियान



मायादेवी अनलाइन, कृष्णनगर ।

कृष्णनगरमा ट्राफिक व्यवस्थापन र बजार सरसफाईका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरले तीन दिने अभियान संचालन गरेको छ ।

पछिल्लो समय अव्यवस्थित पार्किङ र सरसफाईको अभावमा कृष्णनगर क्षेत्र अस्तव्यस्त बन्दै गएपछि प्रहरीले यस्तो अभियान संचालन गरेको हो । अभियानको पहिलो दिन शनिबार प्रहरीले जनचेतनामूलक ¥यालीसहित बजार परिक्रमा र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । सबै सरोकारवालाको सहयोग र सहकार्य भए कृष्णनगर बजारको मुहार फेरेर देखाउने प्रहरी निरीक्षक प्रताप पौडेलले प्रशिक्षणका क्रममा उद्घोष गरे । उनले कृष्णनगरलाई व्यवस्थित, सुन्दर, सफा र हराभरा बनाउन सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आग्रह गरे ।

यता कार्यक्रमका सहभागीले समेत प्रहरीले चालेको अभियान सकारात्मक रहेको भन्दै अभियानमा सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, ब्यापारी, संघसंस्था, होटल व्यवसायी, पत्रकार, शिक्षक र विद्यार्थी, किसान, प्रहरीहरुको सहभागिता रहेको थियो । कार्यालयमा प्रहरी निरीक्षक प्रताप पौडेलले बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सरसफाई सम्बन्धी प्रशिक्षण तथा जनचेतना मूलक भनाई राखेका थिए ।

गोलघरमा आयोजित कोणसभामा कृष्णगनर उद्योग बाणिज्य संघका आध्यक्ष रामकुमार कौलापुरी, लायन्स क्लबका दिनेस गुप्ता लगायतले सबैको साथ र समर्थन भएमा कृष्णनगरलाई नमूना बस्तीको रुपमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका थिए । अभियान सोमबारसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  ७ : २९ बजे