१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रूपन्देहीमा बस संचालक समितिका कर्मचारीबीच कुटाकुट, एक जना गम्भिर



बुटवल ।
आलोपालो प्रणालीअनुसार बस सञ्चालनका विषयमा विवाद हुँदा तीनवटा बस व्यवसायी संस्थाका कर्मचारीले अर्को संस्थाका कर्मचारीमाथि आक्रमण गरेका छन् ।
रुपन्देहीको बेलहियाबाट बुटवलतर्फ बस छुट्ने क्रममा यातायात मजदुरबीच विवाद हुँदा पश्चिम नेपाल, सिद्धार्थ यातायात र बुटवल यातायातका तीनजना कर्मचारी मिलेर लुम्बिनी मेट्रोसिटी प्रालिका कर्मचारीमाथि आक्रमण भएको हो ।
बुटवल यातायातका सोनु धोबी, सिद्धार्थका जितेश गुरुङ र पश्चिम नेपालका अनिश थापाको नेतृत्वमा ७÷८ जनाको समूहले लुम्बिनी मेट्रोसिटीका कर्मचारी बसन्त गौचनमाथि धारिलो हतियार र शिशाको बोतलले टाउकोमा आक्रमण गरेका हुन् ।
आक्रमणबाट गौचनको टाउकोको अगाडि र पछाडीको भागमा गम्भीर चोट लागेको छ । भीम अस्पताल भैरहवामा उपचार गराइएका गौचनको टाउकाको अगाडिपट्टकिो चोटमा ११ वटा टाँका लगाइएको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।
लुम्बिनी मेट्रोसिटीको बसलाई धपाउन अन्य यातायात संस्थाका कर्मचारी आएपछि गौचनले परिचय पत्र देखाउन भनेपछि विवाद भएको थियो ।
उक्त विवाद केहीबेरमा साम्य भएर फर्केपछि बुटवल यातायातका सोनु धोबीले फोनमार्फत अरु मान्छेलाई बोलाएर आक्रमण गरेका लुम्बिनी मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए ।
आक्रमण गर्ने्विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अधिकारीले माग गरे ।
अन्य तीनवटा यातायात व्यवसायी समितिको भन्दा लुम्बिनी मेट्रोसिटीले नयां बस र एसी जडित गुणस्तरीय सेवा प्रदान गरेकाले स्वस्थ प्रतिस्पर्धा गर्न नसकी कर्मचारीमाथि भौतिक आक्रमण गरेर हतोत्साही बनाउन खोजिएको लुम्बिनी मेट्रोसिटीका सञ्चालक प्रेम थापाले बताए ।
सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य सारुले गौचनमाथि आक्रमण भएको स्वीकार्दै लुम्बिनी मेट्रोसिटीकै कर्मचारीको परिचय पत्र नभएको अवस्थामा पुराना संस्थाका पुराना कर्मचारीको परिचयपत्र माग्दा विवाद उत्पन्न भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  ११ : १७ बजे