१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

पाल्पामा बढे नसर्ने रोगका बिरामी



पाल्पा (बेझाड) ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सरसम्बन्धी रोगका बिरामी बढ्दै गएको पाइएको छ ।

आर्थिक वर्ष ०७३/०७४ मा ५० प्रतिशत, ०७४/०७५ मा ६० प्रतिशत र २०७५/०७६ मा ६६ प्रतिशत नसर्ने रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । धूमपान, मध्यपान, अस्वस्थकर खानपान, परिवर्तित जीवनशैलीका कारण नसर्ने रोगको बिरामी बढ्दै गएको उहाले बताउनुभयो ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई ‘लाइफ स्टाइल डिजिज’ जीवनशैली रोग समेत भन्ने गरिन्छ । आजभोलि यहाँका अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ । नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूमपान र मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् ।

अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढ्नुका कारण जीवनशैलीमा हेल्चेक्य्राइँ गर्नुले नै हो । धूमपान–मध्यपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिने रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताउनुभयो । धूमपान गर्दा श्वासप्रश्वास, फोक्सोको क्यान्सरलगायत जटिल समस्या देखापर्ने उहाले बताउनुभयो ।

अत्यधिक रक्सी सेवनले कम्तीमा २०० प्रकारका रोग लाग्ने सम्भावना रहन्छ । खैनी, गुट्खा, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । यस्ता पदार्थको सेवान नगर्ने हो भने दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । १८ वर्षमुनिका बालबालिका र गर्भवतीले सुर्तीजन्य पदार्थ किनबेच गर्न नपाउने, सरकारी, सार्वजनिक स्थल वरिपरि बिक्री वितरण तथा सेवन गर्न नपाइने भएपनि खुलेआम यस्ता सुर्तीजन्य पदार्थ किनबेच भइरहेको पाइन्छ ।

यसो गरेमा रु १०० जरिवाना र १८ वर्षभन्दा मुनिका बालबालिका र गर्भवतीले किनबेच गरेमा रु १० हजारसम्मको जरिवानाको व्यवस्था छ तर कार्यान्वयन नहुँदा सुर्तीजन्य पदार्थको सेवन घट्नेभन्दा झन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  ७ : ३६ बजे