१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

भुसालडाँडालाई मदिरा निषेध गर्ने अभियान तीव्र



पाल्पा ।
तानसेन नगरपालिका–१ को भूषालडाँडालाई मदिरा निषेध गर्ने अभियान तीव्र पारिएको छ । अभियानअन्तर्गत शनिबार सरसफाई तथा दुव्र्यसनी सचेतना सम्बन्धी घरदैलो कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीको नेतृत्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, पाल्पा बैंकर्स एशोसिएसनका पदाधिकारी, टोलविकास संस्था, मिसन अस्पतालका प्रमुख, स्थानीय व्यावसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
भूषालडाँडाको माथिल्लो प्रतिक्षालयबाट सुरु गरिएको अभियान युनाइटेड मिसन अस्पतालको मूलगेट हुँदै खल्लुकधारामा आएर सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । उनका अनुसार आगामी भदौ महिनादेखि यो क्षेत्रलाई मदिरा निषेध गर्ने निर्णय बमोजिम स्थानीयलाई सचेत गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो ।
यहाँका सम्पूर्ण स्थानीयलाई विभिन्न रचनात्मक काममा सहभागी गराएर सचेत गराउदै छौं उनले भने सबैको सक्रिय सहभागितामा भदौ देखि पूर्णरुपमा मदिरा निषेध हुनेछ । प्रहरी नायव उपरीक्षक सापकोटाले भदौदेखि यहाँ मदिरा बिक्री वितरण तथा सेवन गर्न समेत नपाइने बताए ।
यसअघि प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सर्वपक्षीय, सर्वदलिय बैठकले युनाइटेड मिसन अस्पतालको ५ सय मिटर वरिपरी कुनैपनि मदिराजन्य पदार्थको विक्रिवितरण तथा सेवन गर्न नपाइने निर्णय गरेको थियोे । भदौ ५ गतेबाट यो निर्णय लागु हुनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  ७ : ४४ बजे