पोखरा ।
पश्चिमाञ्चल सामुदायिक अस्पतालमा बिहीबार सुत्केरी भएकी कास्की अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुककी निशाकुमारी थापाको अस्पतालमै मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन्।
सुत्केरी पश्चात्त अत्यधिक रक्तश्राव भइरहँदा चिकित्सकले समयमै उपचार नगरेका कारण निशाको मृत्यु भएको भन्दै उनका आफन्तले उपचारमा संलग्न डाक्टर र नर्सलाई कारबाहीको माग गरेका छन्।
मृत्युको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने भन्दै उचित क्षतिपूर्तिको समेत व्यवस्था गर्नुपर्ने पीडित पक्षको माग छ।
सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा चिकित्सकले लापरवाही गरेकाले मृत्युसम्मको अवस्था आएको निशाकी बहिनी ताराकुमारी थापाले बताइन्। तोकिएको समयमै अस्पताल आएर निशाले नियमित गर्भ परीक्षण गराउँदै आएकी थिइन्।
‘दिदीले छोरा पाइसकेपछि रक्तश्राव सुरु भयो,’ निशाकी बहिनी ताराकुमारी थापाले भनिन्, ‘त्यसपछि डाक्टरले सामान्य हेरेर मात्रै जानुभयो, हामीले नर्सलाई पटकपटक रक्तश्राव भइरहेको छ बिरामीलाई गाह्रो भयो भनेका थियौँ तर समयमै उपचार भएन।’ बच्चाको स्वास्थ्य भने सामान्य छ।
निरन्तर रक्तश्रावपछि साढे ८ बजे थापा बेहोस भएको र नर्सलाई डाक्टर बोलाइदिन गरेको आग्रहमा ‘अलिअलि रगत बग्नु सामान्य’ भएको भन्दै समयमै डाक्टरलाई खबर नगरेको ताराकुमारीले सुनाइन्। निशालाई शुक्रबार बिहान ४ बजेपछि मात्र अस्पतालले मृत घोषणा गरेको थियो।
प्रदर्शनका क्रममा अस्पताल परिसरमा शुक्रबार साँझ प्रहरी र मृतकका आफन्तबीच झडप हुँदा ४ जना घाइते भएका छन्। प्रहरीलाई ढुंगा हान्ने तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको रोहबरमा शुक्रबार भएको सामान्य छलफलमा घटनापछि उत्पन्न विवाद समाधानका लागि बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। बैठक नटुङ्गिएपछि अस्पताल प्रशासनमा आन्दोलनरत समूहले तालाबन्दी गरेका छन्। विवाद समाधानका लागि आज बैठक बस्ने तयारी भइरहेको पीडित पक्षले जानकारी दिएका छन्।
के भन्छिन् डाक्टर ?
सुत्केरी व्यथाले च्यापेपछि बिहीबार बिहान ८ बजे निशा अस्पताल पुगेकी थिइन्। उनलाई साढे ८ बजे वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको चिकित्सक टोलीले चेकजाँच गरेको थियो।
डा. पुनले भिडियो एक्सरे रिपोर्ट र प्रेसरको अवस्था पत्तो पाएपछि अप्रेसन गर्नुपर्ने सुझाएकी थिइन्। १२ वर्षअघि १ छोरालाई जन्म दिइसकेकी निशाले अप्रेसन नगर्ने मनसाय सुनाएपछि चिकित्सकले सलाइन् पानीमार्फत औषधी दिएका थिए।
बच्चाको आकार ठूलो देखिएको र पाठेघरको मुख आवश्यक मात्रामा नखुलेकाले अप्रेसन गर्नुपर्ने सुझाएपनि निशाले औषधी प्रयोग गर्न चाहेको डा. पुनले बताइन्। ‘उमेरको अवस्था, दुई बच्चाबीचको लामो समय ग्याप र पाठेघर नखुलेको स्थिति देखेर हामीले अप्रेसन अफर गरेका थियौँ’, उनले भनिन्, ‘तर पब्लिक च्वाईसलाई प्राथमिकता दिने भनेर हामीले औषधी प्रयोग गर्यौँ। दिउँसोको समयमा चेक गर्दा केही सुधार देख्दा उत्साहि भएको थिएँ।’
बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यमा केही सुधार देखिएपछि आफू अस्पतालबाट बाहिरिएको उनले बताइन्। ‘१० बजेतिर मलाई फोन आएपछि म दौडिँदै अस्पताल पुगेर बिरामीको उपचारमा जुटेँ’, उनले भनिन्, ‘अप्रेसन गर्नुपर्छ भन्ने फाइनल भएपछि सबै प्रक्रिया पुर्याएर सुत्केरीको थप उपचार भएको थियो।’
सुत्केरी पश्चात्त पाठेघर आफ्नो ठाउँमा आउनुपर्नेमा औषधीले समेत कुनै असर नगरेको उनले बताइन्। ‘औषधी दिने, मसाज गर्ने सबै प्रक्रिया पूरा गर्दा पनि हुँदै भएन’, उनले भनिन्, ‘गर्भवतीको भएको समयमा रगत पातलो हुन्छ, रगत रोक्न सकिएन। अनि पाठेघरको अप्रेसन गर्ने सल्लाह गरेका हौँ।’ समस्या देखिएर रगत नरोकिएका कारण पाठेघर नै झिक्नुपरेको उनको भनाइ छ। देश सञ्चारबाट
प्रतिक्रिया