१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

एक दिवसीय क्रिकेटबाट विदा भए मालिंगा



काठमाडौं ।
क्रिकेट दुनियाँमा बलिङको कलामार्फत दरिलो छाप छोड्न सफल श्रीलंकाली क्रिकेटर हुन् लासिथ मालिंगा । मालिंगाको खतरनाक योर्कर, जादुमयी बलिङ अब एकदिवसीय क्रिकेटमा देख्न पाइने छैन ।
३५ वर्षीय फास्ट बलर मालिंगाले शुक्रबार एक दिवसीय फम्र्याटको क्रिकेटबाट सन्यास लिए । उनको बिदाई निकै सुखद बन्यो । शुक्रबारबाट सुरु भएको बंगलादेशविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेल खेलेर मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका हुन् । कोलम्बो स्थित आर. प्रेमादासा क्रिकेट मैदानमा मालिंगाको बिदाई निकै सुखद रह्यो ।
सिरिजको पहिलो खेलमा श्रीलंकाले बंगलादेशमाथि ९१ रनको सानदार जित हात र्पायो । अन्तिम खेलमा श्रीलंकाको जितका लागि मालिंगाको प्रदर्शन पनि सम्झनलायक रह्यो । ९.४ ओभर बलिङ गरेका उनले २ मेडनसहित जम्मा ३८ रन दिएर ३ विकेट दिए । बंगलादेशको पहिलो र अन्तिम विकेट उनैले लिएका थिए । बंगलादेशका ओपनरद्वय तामिम इकबल र सौम्य सरकार दुवैलाई मालिंगाले बोल्ड आउट गरे ।
४२औं ओभरको चौथो बलमा उनले बंगलादेशका मुस्ताफिजुर रहमानलाई थिसरा परेराको हातबाट क्याच आउट गराए । मालिंगा आफ्नो एकदिवसीय क्रिकेटको अन्तिम बलमा विकेटकासाथ बिदाइ भए। अन्तिम खेलमा मालिंगाले ब्याटिङ गर्ने मौका पनि पाए । ६ बलमा ६ रन बनाउँदै नटआउट रहे ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ किकेट गुमाएर ३१४ रन बनाएको थियो । ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४१.४ ओभरमा २२३ बनाउँदा सबै विकेट गुमायो ।
सन्यासपछि बोल्दै मालिंगाले आफूले सही समयमा बिदाइ लिएको बताए । ‘म १५ वर्षदेखि एकदिवसीय क्रिकेट खेलिरहेको छु मेरो समय सकियो’ मालिंगाले भने–‘हामीसँग थुप्रै युवा बलरहरु छन् म उनीहरुलाई मौका दिन चाहान्छु।’ आफूले आफ्नो समयमा टोलीको जितका लागि सकेसम्म राम्रो गर्ने प्रयास गरेको भन्दै उनले युवा बलरहरुलाई पनि त्यो कला देखाउन सुझाव दिए ।
सन २००४ जुलाई १७ मा यूएईविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यू गरेका मालिंगाले श्रीलंकाली टोलीबाट २२६ खेल खेले । २२० इनिङ खेल्दा उनले ३३८ विकेट लिएका छन् । मालिंगाको इकोनोमी रेट ५.३५ छ।
मालिंगाले अन्तिम खेललमा ३ विकेट लिँदै एक दिवसीयमा सर्वा्धिक विकेट लिने नवौं खेलाडी बन्न सफल भए । उनले अन्तिम खेलमा ३३७ विकेट लिएका भारतका अनिल कुम्बेलाई पछि पारेका हुन् ।
ब्याटिङतर्फ उनले १२० इनिङमा मौका पाउँदा ५६७ रन बनाएका छन् । उनले एक अर्ध शतक बनाएका छन् । एक दिवसीयमा उनको उच्च स्कोर ५६ रन हो ।
मालिंगाको बल फाल्ने कला बेग्लै छ । उनको बल सामाना गर्न जस्तासुकै ब्याट्समयानलाई पनि चुनौती हुने गर्छ । थुप्रै खेलमा मालिंगाले जित नजिक पुगेको अवस्थामा अन्य टोलीबाट जित खोसेका छन् ।
टेस्ट क्रिकेटबाट २०१० मै विश्राम लिएका मालिंगाको जादुमयी बलिङ टी–ट्वीन्टी अन्तराष्ट्रिय क्रिकेट र लिगहरुमा भने अझै देख्न पाइनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०७६ शनिबार ००:००  ७ : ४८ बजे