एजेन्सी ।
क्यानडाको ग्लोबल ट्वान्टी–२० क्रिकेटमा सन्दीप लामिछानेको टोली ‘टोरोन्टो नेसन्स’ ले खराब सुरुआत गरेको छ। बिहीबार राति सम्पन्न खेलमा टोरोन्टो ‘भान्कुभर नाइट्स’ सँग ८ विकेटले पराजित भएको हो।
ब्रम्पटनस्थित सिएए सेन्टरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको टोरोन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। रसी भान डेर डुसान र चाडविक वाल्टनले अर्धशतक बनाएपछि १ सय ६० रनको लक्ष्य भान्कुभरले १६ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको थियो।
सन्दीप लामिछाने आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका अहिले सिंगापुरमा रहेका कारण टोरोन्टोमा समावेश भइसकेका छैनन्। छनोट प्रतियोगिता सकिएलगत्तै सन्दीप र सोमपाल कामी सिंगापुरबाटै क्यानडा जानेछन्। सोमपाल विन्निपेग हक्सबाट खेल्नेछन्।
पहिलो ब्याटिङ थालेको टोरोन्टोका रोड्रिगो थोमस र हेनरिच क्लासेनले समान ४१ रन बनाए। जुन टोरोन्टोको इनिङमा बनेको सबभन्दा ठूलो रन हो। किरन पोलार्डले ३० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
भान्कुभरका रिजवान चीमा, साद बीन जफर, मिचेल रिप्पोन, एन्डिल फेलुकवायो र अलि खानले समान १ विकेट लिए।
१ सय ६० रनको लक्ष्य पछ्याएको भान्कुभरले सुरुमै दुई विकेट गुमायो। वान्टन र भान डेर डुसानले आक्रामक ब्याटिङ प्रदर्शन गरेपछि टोलीले सहज जित निकालेको हो।
ओपनर क्रिस गेल १२ तथा टोबिस भिसी २० रन बनाएर पवेलियन फर्किए। त्यसपछि वाल्टन र भान डेर डुसानले तेस्रो विकेटका लागि अविजित १ सय २४ रनको साझेदारी गरेपछि भान्कुभरले ८ विकेटको विजय हासिल र्गयो।
वाल्टनले ३५ बलमा ४ चौका र ४ छक्कासहित अविजित ५९ रन बनाए भने भान डेर डुसानले ४३ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६५ रन बनाए।
सन्दीपको टोली टोरोन्टो नेसन्सले अब शनिबार इडमोन्टनम रोयल्सविरुद्ध खेल्नेछ। आज शुक्रबार सोमपाल कामीको टोली विन्निपेग हक्सले मोन्ट्रियल टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ।
१० श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया