त्रिपोली ।
लिबियाको समुन्द्री तट नजिक शरणार्थी चढेको एक पानी जहाज डुब्दा त्यसमा रहेका करिब १५० मानिस बेपत्ता भएका छन् । उनीहरु सबैको मृत्यु भएको हुन सक्ने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर)ले जनाएको छ । जहाजमा रहेका अन्य १५० जनाको भने स्थानीय मछुवारले उद्धार गरेका छन् । युएनएचसीआरका प्रवक्ताका अनुसार लिबिया कोस्टगार्डले ती व्यक्तिहरुलाई किनारामा ल्याएका थिए । उक्त जहाज लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किमी टाढा एक शहरबाट निस्केको थियो ।
यद्यपि अझैपनि ती शरणार्थी एउटा डुंगामा सवार थिए वा दुइ वटामा भन्ने खुलेको छैन । संयुक्त राष्ट्र संघले जो व्यक्तिलाई भूमध्यसागरबाट बचाइएको छ उनीहरुलाई लिबिया नपठाउन आग्रह गर्दै आएको छ ।
यसको कारण त्यहाँ जारी संघर्ष र शरणार्थीमाथि हुने अमानवीय व्यवहार बताइँदै आएको छ । गएको मे महिनामा ट्युनिसियाको तट नजिक डुंगा डुब्दा कम्तिमा ६५ जनाको मृत्यु भएको थियो । १६ जनालाई ट्युनिसियाको तटमा नौसेनाले ल्याएको थियो । हजारौं शरणार्थी हरेक वर्ष भूमध्यसागर पार गर्ने कोशिश गर्दै आएका छन् । त्यसमा धेरैजसो शरणार्थी लिबियाका हुने गरेका छन् । (बीबीसी)
प्रतिक्रिया