काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको छैठौँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेता श्रेष्ठले भने, ‘राजनीति प्रतिवेदन प्रकाशित भएसँगै हाम्रो वैचारिक राजनीति स्पष्ट भएको छ । पार्टीको अन्तर–संघर्षलाई अतिरन्जित गर्ने प्रवृत्ति छ । त्यो हुनु हुन्न। कसैलाई पनि त्यो गर्ने छुट छैन।’
उनले समाजवाद उन्मुख जनताको जनवाद लागु गर्नु पर्ने बताए । त्यसका लागि पार्टी एकताले पूर्णता पाउनु पर्ने उनले बताए ।
नेकपाको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइए पनि स्कूल विभागको नेतृत्वको विषयलाई लिएर सहमति जुट्न सकेको छैन । जसले गर्दा केन्द्रीय सचिवालय बैठक स्थगित हुँदै आएको छ । स्कूल विभागको नेतृत्वका लागि नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी रहेको छ ।
प्रतिक्रिया