लमजुङ ।
दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उनका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका(४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ । बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ । शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताए । बेपत्तामध्ये एकजना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए । चारवटै शव परीक्षणका लागि बेँसीशहरको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।
रासस
९ श्रावण २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया