१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

दुई सातादेखि सडक अवरुद्ध



पाल्पा ।
वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ ।
मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताइन् ।
फोक्सिङकोटको ढुङ्गेमा गएको हप्ता वर्षाले एक पाडी र ११ कुखुरा मरेको थियो । कुखराको खोर र गोठमा भलसहितको पानी पसेपछि जोखिम बढेको स्थानीय हुमबहादुरले शाहीले बताए । वर्षाको भल पसेपछि गोठको गारो झ्याल भत्कने अवस्थामा पुगेको उनले बताए ।
वर्षाले फोक्सिङकोटको लाबेदेखि झोकेदी हुँदै सदरमुकाम तानसेन जाने सडक दुई सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ । बिरामी, अशक्त, अति आवश्यक कामकाजका लागि अस्पताल तथा गन्तव्यस्थलसम्म पुग्न सडक अवरुद्ध हुँदा समस्या परेको साना हुँगी माविका सहायक प्रधानाध्यापक एवत सारुले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  ८ : १३ बजे