१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

गुल्मीको सत्यवतीका ६ सय घरपरिवार विस्थापित, बेपत्ता चारजना अझै भेटिएनन्



बुटवल ।
गुल्मीको सत्यवतीमा गएको पहिरोका कारण करिब ६ सय घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेकको सिङ्दी गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले करिब ४ सयजनालाई स्थानीय धर्मपूर मावि र अस्लेवाका सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए ।
वडा नम्बर ४ को लिम्घामा दुई सय घरपरिवार जोखिममा रहेपछि स्थानीय सरस्वती माविमा सारिएको वडाध्यक्ष दानबहादुर रानाले बताए ।
सिङ्दीको सिद्ध आधारभूत विद्यालय बगाएपछि विद्यालय आसपासका बासिन्दा पनि अन्यत्रै गएका छन् ।
विद्यालयका शिक्षक दुर्गा तरामुले विद्यालयको भवन, नजिकका घर र गोठ बगाएपछि आफूहरु ठाउँ छाडेर अन्यत्रै गएर बसिरहेको बताए । उनीहरुका लागि खाना, लत्ताकपडा र पानीको समस्या भएको छ । सिङ्दीका ८५ घरमध्ये ५५ घर पहिरोको जोखिममा छन् ।
भेटिएनन् बेपत्ता चारजना

सत्यवती गाउँपालिका ४ लिम्घामा ७ वर्षीया तारा बिक र डेढ वर्षीय सुमन बिक अझै पनि बेपत्ता छन्। यस्तै वडा नम्बर ३ ठूलोलुम्पेककी माया र बबी बिक पहिरोमा हराइरहेका छन् ।

वर्षा नरोकिएका कारण बेपत्ता भएकाहरुको खोजी गर्न नसकेको गुल्मी प्रहरी प्रमुख दीपक बस्नेतले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् तर वर्षाका कारण खोजतलास गर्न सकिरहेका छैनन् ।

गाउँमा खाद्यान्न संकट, राहत सामग्री बाटोमै रोकिए

ठूलो लुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । जसका कारण पहिरो प्रभावित क्षेत्रमा पुग्न र राहत दिन समस्या भइरहेको छ । सो ठाउँमा पुग्न साढे २ घण्टा पैदल हिँड्नुपर्छ ।

सत्यवती गाउँपालिका १ का वडाध्यक्ष भीमलाल पाण्डेले राहतका लागि विभिन्न ठाउँबाट आएका सामग्री रुद्रवेणीमा रोकिएको बताए ।

सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले गाउँका पसलहरुमा दाल, चामल, चाउचाउ, बिस्कुटलगायतका खाद्यसामग्री सकिएको र अन्यत्रबाट ल्याउन कठिन भइरहेको बताए ।

पहिरो प्रभावित क्षेत्रमा पुग्न र राहत तथा उद्धारमा सक्रिय हुन समस्या भएपछि गुल्मी प्रशासनले हेलिकोप्टरबाट काम गर्ने योजना बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हेलिकोप्टर सञ्चालनबारे मन्त्रीहरुसँग कुरा भइरहेको बताए । –देश सञ्चारबाट

प्रकाशित मिति : ८ श्रावण २०७६ बुधबार ००:००  १ : ०१ बजे