काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएका छन्। सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा भएको बैठकमा दुई पक्ष गतिरोध अन्त्य गर्न सहमत भएका हुन्। दुई पक्ष आ आफ्नै अडानमा कायम रहेपछि सभामखुकै भएको छलफलले संसद बैठक सञ्चालनका लागि सहमति जुटाएको हो। सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतबारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने भएका छन्। त्यसपछि सदन सुचारू गर्ने सहमति भएक हो।
छलफलमा सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ उपस्थित थिए। त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागी थिए। बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत उपस्थित थिए। सुरुमा दलहरुबीच सहमति नभएपछि १ बजे राखिएको निर्धारित बैठक सरेको हो। अब प्रतिनिधि सभाको बैठक दिउँसो २.३० बजे बस्ने छ। त्यसअघि दिउँसो १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ । प्रतिनिधिसभा बैठक अघि दिउँसो २ बजे नेकपा प्रतिनिधिसभा दलको बैठक बोलाइएको छ। प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठक बोलाएको जानकारी दिए। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा बैठक बोलाइएको हो। गत असार ३० गते नेपाली कांग्रेस र राजपाले संसदको नियमित कार्यसूचीलाई थाँती राखेर बाढीपहिरोका कारण भएको क्षति र त्यसमा भइरहेका प्रयासबारे छलफल गर्न माग गरेका थिए । कांग्रेस र राजपाले संसदमा बाढी पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । तर सत्ता पक्ष नेकपा उक्त प्रस्तावमा छलफल गर्न मानेको थिए। नेकपाले पहिले गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने अडान राखेको थियो । त्यसपछि सभामुख महराले बैठक साउन ८ गते सम्मका लागि स्थगित गरेका थिए।
प्रतिक्रिया