काठमाडौं ।
आज (बुधबार) देशभर बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने पूर्वी क्षेत्रमा भने अहिले (बिहान ७ बजे) पानी पर्न रोकिएको छ।
दिउँसो तथा राति पनि देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए। साथै देशका केही स्थानमा भारी वर्षा हुने संकेत देखिएको उनको भनाइ छ।
‘यही ठाउँमा भारी वर्षा हुन्छ भनेर तोक्न सकिन्न,’ उनले भने, ‘तर विशेषगरी पश्चिम तथा मध्य क्षेत्रका केही स्थानमा हुने देखिन्छ।’
किनकि वरिष्ठ मौसमविद् पौडेलका अनुसार अहिले खासगरी मनसुन पश्चिम र मध्य क्षेत्रमा केन्द्रित भएको छ। त्यसमा पनि मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई भू-भाग नजिकै रहेकाले अलि बढी वर्षा तराई क्षेत्रमै हुने उनको अनुमान छ।
‘पश्चिम पहाडमा पहिरो जाने तथा चुरे पर्वतबाट बहने नदीनालामा पानीको बहाव बढ्न सक्ने सम्भावना छ,’ उनले भने, ‘सतकर्ता अपनाउन जरुरी छ।’
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ-देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैले ती क्षेत्रका पहाडी भू भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु अनुरोध गरिन्छ।
आगामी दुई दिनसम्म वर्षा यस्तै रहने र पर्सि शुक्रबारदेखि केही सुधार हुने संकेत देखिएको वरिष्ठ मौसमविद् पौडेलले बताए। ‘आगामी दुई दिनसम्म मौसम यस्तै रहने देखिन्छ,’ उनले भने, ‘पर्सिदेखि भने केही सुधार हुने सम्भावना छ।’
८ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया