१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

देशभर मनसुन थप सक्रिय, बाढी र पहिरोको खतरा !



काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
पुनः मनसुन सक्रिय भएकोले आगामी तीन दिन सम्म मौसम आजकै जस्तो हुने मौसमविद् राजु प्रधानाङ्गले बाह्रखरीसँगको कुराकानीमा बताए ।
मौसमको न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  ६ : २८ बजे