९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

तुलसीपुर उपमहानगरमा अब सबै भुक्तानी ‘क्यासलेस’बाट



दाङ ।
तुलसीपुर उपमहानगरपालिका कार्यालय साउन १५ गते देखि ‘क्यासलेस’ हुने भएको छ । आर्थिक पारिदर्शिताका साथै नागरिकलाई बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउनका उक्त योजना लागू गर्न लागेको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।
क्रेडिक कार्ड हुने सेवाग्राहीले ‘स्वैप मेसिन’बाट र अन्यले उपमहानगरपालिका कार्यालयभित्र रहेको बैंकको काउन्टरबाट पैसा भुक्तानी गर्ने व्यवस्था मिलाइने उपमहानगरपालिकाले बताएको छ ।
उपमहानगरपालिकाभित्र शाखा राख्नका लागि बैंकहरुलाई आह्वान गरिएको थियो । आह्वान गरिएका बैंकहरुमध्ये मेगा बैंकले नगद संकलन काउन्टर राख्ने उपमहानगरका वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाका १९ वटै वडामा स्वैप मेसिन राख्ने प्रक्रिया अघि बढाइएको छ ।
त्यसैगरी सेवाग्राहीहरुलाई कार्डको प्रयोगतर्फ आकर्षित गर्नका लागि कार्ड प्रयोग गर्नेहरुलाई केही प्रतिशत छुट दिने योजनामा रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए ।
उपमहानगरपालिकालाई पेपरलेस बनाउनका लागि घटना दर्ता र कर संकलन अनलाइनमार्फत गर्न थालिएको उनले बताए । घरजग्गा नक्सापासलाई पनि चालु आर्थिक वर्षदेखि अनलाइनमा लैजाने गरी तयारी भइरहेको पनि प्रवक्ता डाँगीले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६ सोमबार ००:००  ६ : २६ बजे