१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

सञ्‍चारमन्त्री बास्कोटाको जिकिरः सय पटक भने पनि क्लिन फिड फिर्ता हुँदैन



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि हालतमा क्लिन फिडको प्रावधान फिर्ता नगरिने बताएका छन्। नेपाली टेलिभिजन क्षेत्रका लागि ल्याउन लागिएको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विकास था प्रविधि समतिमा भएको छलफलका क्रममा मन्त्री बास्कोटाले यस्तो बताएका हुन्।  ‘विधेयकबाट कुनै पनि हालतमा क्लिन फिडको प्रावधान हट्दैन। यो प्रावधान हटाउन नहुनेमा सरकार दृढ छ’, बास्कोटाले भने, ‘कसैले सय पटक भने पनि हटाउनुहुँदैन, सय पटक छलफल गरे पनि फिर्ता हुँदैन।’ नेपाली कांग्रेसका सांसदहरु दिव्यमणि राजभण्डारी र सुजाता परियारसहितले क्लिन फिडको प्रावधान हटाउन विधेयकमा संशोधन प्रस्ताव हालेपछि मन्त्री बास्कोटाले यस्तो जवाफ दिएका हुन्।  ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमा क्लिन फिडको व्यवस्था गर्न पनि यो विधेयक ल्याइएको हो। यस्तो व्यवस्था हटाउन संशोधन आएको छ’, उनले भने, ‘त्यो संशोधन पास गर्ने हो भने यो विधेयक कागजको खोस्टो मात्रै हुन्छ। यो प्रस्तावमा सरकार कुनै हालतमा सहमत हुन सक्दैन।’ क्लिन फिड देशको भावना, राष्ट्रियता र हितको कुरा भएको बताउँदै उनले त्यही कारण हटाउन नसकिने बताएका हुन्। ‘यो देशको भावनाको कुरा हो, राष्ट्रिय हितको कुरा हो त्यसैले हटाउन सकिँदेन’, उनले भने, ‘नेपालको कला, संगीत, सञ्चार र सांस्कृतिक क्षत्रले यो विधेयक छिटो आओस भनेको छ।’  क्लिन फिडको व्यवस्था विधेयकबाट हटाऊ भन्नु विधेयकको आत्मा मारिदेऊ भन्नु भएकोले त्यसमा सहमत हुन नसकिने जवाफ उनले दिए। ‘नेपालमा कुनै बेला विज्ञापन क्षेत्र जानकारीका लागि मात्रै थियो। अहिले बजार भइसकेको छ’, उनले भने, ‘नेपाली विज्ञापन बजारको औपचारिक क्षेत्रमा १२ अर्बको व्यपाार भइरहेको छ अनौपचारिक क्षेत्रमा ३० अर्ब रुपैयाँमा भइरहेको छ । यो विधेयकले विज्ञापन क्षेत्रको करको दायार बढाउँछ भने करको दायरामा पनि ल्याउनेछ ।’ मन्त्री बास्कोटाले विज्ञापनबाट शिक्षा र भ्रम दुवै बाँडिरहेको गुनासो गरे। ‘विज्ञापनले शिक्षा पनि दिइरहेको छ। विज्ञापनले भ्रमण पनि छदैर्छ। शिक्षित पनि बनाउँछ तर हामीले कुन बाटो रोज्ने?’, उनले प्रश्न गरे, ‘सरकार दिग्भ्रमित बनाउने बाटो समात्न सक्दैन।’ मन्त्री बास्कोटाले विदेशी च्यानलको विज्ञापन नेपाली भाषामा डबिङ गर्न पनि नदिने बताए । ‘बहुराष्ट्रिय कम्पनीहरुले नेपालमै आएर विज्ञापन बनाउनुपर्छ। कोकाकोलाले विज्ञापन सगरमाथको फेदमा बनाउँदा हुन्छ। सहास देखाउने विज्ञापन सगरमाथा भन्दा अन्त राम्रो हुँदैन ।’ कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संसारभर लाइसेन्सवाला बन्दुक लिन विज्ञापन गरेको उहाहरण दिँदै व्यवसायिकरुपमा विस्फोटक पदार्थको विज्ञापन पनि भइरहेको जिकिर गरेका थिए ।  उनले नेपालमा पनि त्यस्तो गर्न पाउनुपर्ने अडान राखेका थिए । त्यसपछि मन्त्री बास्कोटाले देश टुक्राउन पाइन्छ भन्ने विज्ञापन पनि बजेको बताउँदै त्यस्ता कुरा कुनै हालतमा नागरिकसामू पुर्याउन नहुने प्रष्ट पारे।

प्रकाशित मिति : ६ श्रावण २०७६ सोमबार ००:००  २ : ५० बजे