१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

पिएसजीका खेलकुद निर्देशकले भने, ‘नेयमारका लागि ठोस प्रस्ताव आएकै छैन’



एजेन्सी ।
पेरिस सेन्ट जर्मन (पिएसजी) का खेलकुद निर्देशक लियोनार्दोले ब्राजिली फरवार्ड नेयमारका लागि क्लबमा कतैबाट पनि ठोस प्रस्ताव नआएको बताएका छन्।
गत सिजनको दोस्रो हाफ सुरु भएदेखि नै नेयमारले नयाँ सिजनका लागि फ्रान्सेली लिग वान च्याम्पियन पिएसजीबाट सरुवा हुने चर्चा व्यापक रुपमा चलेको थियो। पिएसजी छोड्न चाहेका नेयमारका लागि उनकै पूर्व क्लब बार्सिलोना सम्भावित गन्तब्य हुने चर्चा थियो।
सरुवाको चर्चामा रहेका कारण उनी प्रि–सिजन तयारी खेलहरुमा अझै पिएसजीको टोलीमा अनुपस्थित रहँदै आएका छन्। थोमस टचेलको टोलीले गए राती नुरेमबर्गसँग १–१ को संघर्षपूर्ण बराबरी नतिजा निकालेको खेलमा पनि उनी मैदानमा थिएनन्।
क्लबले उचित मुल्य पाए २७ वर्षे नेयमारले पिएसजी छोड्न सक्ने बताउँदै आएका लियोनार्दोले शनिबार जर्मनीमा सम्पन्न उक्त खेलपछि भने उनका लागि कुनै ठोस प्रस्ताव नआएको बताए।
‘पछिल्लो पटक हामीले कुरा गर्दाभन्दा अहिले पनि नेयमार सरुवाको विषयमा कुनै परिवर्तन भएको छैन। उनी अहिलेसम्म कतै गएका छैनन्। उनका लागि कुनै ठोस प्रस्ताव पनि आएको छैन। नेयमार हामीसँगै छन्, उनी पेरिस सेन्ट जर्मनका खेलाडी हुन्,’ लियोनार्दोले भने।

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  ८ : ३१ बजे