१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

विस्तारै नजिकिँदै न्यून चापीय रेखा, रातिदेखि बदली अझ सक्रिय हुने



काठमाडौं ।
ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा भारतबाट नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीकाअनुसार हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा छ । त्यसैकारण नेपालमा क्रमशः मौसम बदली र वर्षा हुने क्रम बढ्दै गएको छ ।
देशको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको र दिउँसो अन्य स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
‘दिउँसो देशका केही स्थानमा वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘दिउँसोभन्दा रातितिर बदली अझ सक्रिय हुने देखिएको छ, मध्य र पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।’
भोलि सोमबारबाट यो क्रम अझ बढ्ने उनको भनाइ छ । किनभने सोमबार राति न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने र पर्सि मंगलबार बिहान नेपालै भित्रिने संकेत देखिएको छ । ‘भोलि रातिदेखि भारी वर्षा सुरु हुने देखिन्छ,’ मौसमविद् बासीले भनिन्, ‘पर्सिदेखि त्यो अझ बढ्ने छ ।’

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  ८ : १९ बजे