१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

फेरि चम्किए वाणगंगाका सञ्जु सेन, पुलिस पहिलो पटक फाइनलमा पुग्दा उनको २ गोल



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुका सञ्जु सेन फेरि एकपटक चम्कँदा विभागीय टिम नेपाल पुलिस क्लब पहिलोपटक राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटोमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा जर्सी नम्बर १० का सञ्जुले २ गोल गरे । एन्फा कम्प्लेक्समा पुलिसलाई उपाधि नजिक लैजाने क्रममा सञ्जुले गोलको खाता खोले । खेलको २८ औं मिनेटमा रविनले मिलाएको बलमा सन्जुले चिप गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् । तर, पुलिसविरुद्ध जावलाखेल पहिलो हाफमै खेलमा फर्कदाँ शिर्षकले पेनाल्टीमा गोल गरे । त्यसपछि रोमाञ्चक बनेको खेलमा मन्जिल राईले डिबक्स भित्रबाट उपलब्ध गराएको पासमा सन्जुले बललाई जाली चुमाउँदै टोलीलाई २– १ को अग्रता दिलाए । त्यसपछि पनि रोचक बनेको खेलमा रविनलेले गोल गरेपछि पुलिसको ३–१ कोजित सुनिश्चित भएको थियो ।  रविनले ८९ औं मिनेटमा  गोल गरे।

जावलाखेललाई हराएसँगै पुलिस पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । जारी प्रतियोगितामा सञ्जुले सनसनी मच्चाएका छन् । डेब्यु खेलमै २ गोल गरेका उनले दोश्रो खेलमा ह्याट्रिक गरेका थिए भने सेमिफाइनलमा पनि २ गोल गरे । अहिलेसम्म उनले ३ खेलमा सात गोल गरेका छन् ।

अब पुलिसले उपाधिका लागि साविकको विजेता ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ । ब्रिगेडले मनाङ मर्स्याङ्दी क्लबलाई ७(१ गोलको भारी अन्तरले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७६ बिहिबार ००:००  ६ : ३५ बजे