भैरहवा ।
वर्षा सुरु भएसँगै यहाँ सर्पदंशका घटना बढेका छन् । सर्पदंशका घटना बढेसँगै उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्यामा पनि ह्वात्तै बढेको छ । गर्मीयाममा दैनिक ३÷४ वटा सर्पदंशका घटना आउने गरेपनि वर्षायाम सुरु भएपछि संख्या बढेर दैनिक करिब १० वटा पुगेको भैरहवास्थित भीम अस्पतालका चिकित्सक त्रिलोचन पन्थीले बताए ।
सर्पदंशका घटना घट्ने गरेपनि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीलाई विष नभएको सर्पले डस्ने गरेको पाइएको उनले बताए। उनका अनुसार त्यस्ता बिरामीलाई पानी सर्पले डसेको हुन्छ ।
’सर्पले डसेपछि मानिस आत्तिएर अस्पतालमा आउन्छन् तर अधिकांशलाई विष नभएको सर्पले डसेको हुन्छ,’ उनले भने, ’अस्पतालमा आउने दशजना बिरामीमध्ये एक–दुई जना बिरामीलाई मात्र विषालु सर्पले डस्ने गरेको पाइएको छ ।’ भैरहवा भीम अस्पतालमा कार्यरत डा. त्रिलोचन पन्थी ।
अस्पतालका अनुसार सर्पका प्रजातिमध्ये यस क्षेत्रमा सबैभन्दा गोमन (कोब्रा) र करेत प्रजातिका विषालु सर्पले मानिसलाई डस्ने गरेका छन् । खाली खुट्टा हिँड्ने बालबालिका, बिहान खेतमा शौच गर्न जाने महिला र खेतामा हिड्ने, काम गर्ने पुरुषलाई सर्पले डस्ने गरेको घटनाले देखाएको छ । अहिलेको समयमा अध्याँरोमा हिँडडुल गर्दा सजगता अपनाउनु पर्ने उनी बताउँछन् ।
प्रतिक्रिया