बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । इलामपछि प्लास्टिक झोला निषेध गरिएको यो दोस्रो नगरपालिका हो ।
२०७५ वैशाख १ देखि प्लास्टिक झोलामुक्त बनाउन नियन्त्रण र सचेतना अभियान शुरु गरेको तिलोत्तमा नगरपालिकाले १५ महिनापछि सफलता पाएको हो ।
बुधबार नगरभित्रका करिब दुई सय टोल विकास संस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक तथा व्यवसायिक संघसंस्थाको उपस्थितिमा ९ बुँदे संकल्पपत्र सामूहिक वाचन गरेर नगरलाई प्लाष्टिक झोलामुक्त घोषणा गरिएको हो ।
घोषणासभामा सहभागीहरुले कुनै पनि प्रयोजनमा प्लास्टिक झोला, गिलास, प्लेट र चम्चाको प्रयोग नगर्ने, प्लाष्टिकजन्य वस्तुको उत्पादन तथा खरिद–बिक्री नगर्ने, प्लास्टिकजन्य वस्तु नजलाउने र जथाभावी नफ्याँक्नेलगायतका प्रतिवद्धता जनाएका छन् ।
घोषणा कार्यक्रममा नेकपा नेता एवं रुपन्देही–३ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले प्लास्टिकजन्य वस्तु मानव स्वास्थ्य र स्वच्छ वातावरणका लागि ज्यादै हानिकारक भएकाले यसलाई निषेध गर्नु ठूलो उपलब्धी भएको बताए । सबै स्थानीय तहले पहल गर्ने हो भने १५–२० वर्षमा नेपाललाई साँच्चिकै समृद्ध र भ्रष्टाचारमुक्त बनाउन सकिने भुसालले बताए ।
हरेक निर्णय प्रक्रिया र नीति निर्माणमा राजनीतिक घेराबाट माथि उठेर सबैको सहभागिता सुनिश्चित गर्न सके मात्र समृद्ध नेपाल र समाजवादको यात्रा सफल हुने भुसालले औंल्याए ।
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्लास्टिक निषेध कार्यक्रम चुनौतिपूर्ण रहे पनि यसलाई कार्यान्वयन गर्न प्रदेश सरकारले साथ दिने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वातावरण संरक्षण ऐन २०५३ को दफा ७ (३) को अधिनमा रहेर ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारा अंगिकार गरी प्लाष्टिक झोला निषेध अभियान शुरु गरिएको बताए ।
नगरका झण्डै दुई सय टोल विकास संस्था, वडा कार्यालय, जनप्रतिनिधि, सामाजिक र व्यवसायिक संघसंस्थाको साथले अभियान सफल हुने उनको विश्वास छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगर कार्यपालिकाले फोहरमैला व्यवस्थापन ऐन र कार्य्विधि समेत पारित गरिसकेकाले नियम उल्लंघन गर्नेलाई एकहजारदेखि एक लाखसम्म जरिवाना गर्न सक्ने जानकारी गराए ।
प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदुषण, चौपाया तथा खेतीमा हानी पुग्ने वातावरणविज्ञ युवराज कंडेल बताउँछन् ।
१ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया